टीकापुर, वैशाख १४
काठमाडौंमा जारी अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियान टीकापुरमा समेत शुरु भएको छ ।
टीकापुर नगरपालिकाले आजदेखि टीकापुरको मुख्य बजार क्षेत्रका सार्वजनिक जग्गामा निर्माण गरिएका संरचना भत्काउन शुरु गरेको हो ।
पालिकाले नगर प्रहरी र नेपाल प्रहरीको सहयोगमा बजार क्षेत्रमा निर्माण गरिएको भौतिक संरचना, होर्डिङ बोर्ड, जग्गाको क्षेत्रफल भन्दा बाहिर निर्माण गरिएका ट्रसहरु भत्काउन शुरु गरेको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले संघीय सरकारको परिपत्र अनुसार गत चैत २५ गते नै पालिकाले सूचना जारी गरी सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेको बताउँदै आजदेखि बजार क्षेत्रका संरचना हटाउन शुरु गरिएको बताए ।
‘बजारलाई खुल्ला, सुरक्षित र सहज बनाउनका लागि हामीले चैत २५ गते नै सूचना जारी गरेर खाली गर्न भनेका थियौं, कतिपयले खाली गरेका छन् कतिपय बाँकी नै छन्’ प्रमुख प्रशासकीय अधिकृत धितालले भने ‘अटेर गर्नेहरुका संरचनाहरु कानुन अनुसार भत्काइनेछ, बजारलाई खुल्ला र सुरक्षित बनाउने अभियान शुरु भएको छ ।’
पालिकाले टीकापुर उद्योग वाणिज्य संघ, समाजसेवी लगायतको सहभागितामा अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउन शुरु गरेको हो ।
यो अभियान शुरु भएसँगै टीकापुर क्षेत्रका विभिन्न सुकुम्बासी बस्ती, विद्यालय तथा क्याम्पसको अतिक्रमित जग्गामा बसोबास गर्दै आएकाहरुलाई समेत हटाउन दबाव परेको छ ।
टीकापुरको वडा नं. १ मा मात्रै ४ हजार बढी भुमिहीन, सुकुम्बासी, मुक्त कमैया, बाढीपीडितहरु विभिन्न शिविरमा बसोबास गर्दै आइरहेका छन् ।




