Hamro Patra
विधार्थीलाई घरदेखि विधालयसम्म नि:शुल्क इ-रिक्सा

टीकापुर, वैशाख १५
टीकापुर नगरपालिका वडा नम्बर ८ बटनपुरस्थित त्रिभुवन माविले प्रावि तहका विद्यार्थीका लागि निशुल्क ईरिक्साको व्यवस्था गरेको छ । 

विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीलाई घरदेखी विद्यालयसम्म ईरिक्सा मार्फत आउने जाने निशुल्क व्यवस्था गरेको प्रधानाध्यापक रविन्द्र कठायतले जानकारी दिए ।

नगरपालिका भित्र विद्यार्थीलाई घरदेखी विद्यालय निशुल्क आउने जाने व्यवस्था गर्ने यो पहिलो विद्यालय हो । 
विद्यालयले बैशाख २१ गतेदेखी पठनपाठन सुरु गर्ने गरी आजदेखी भर्ना अभियान सञ्चालन गरेको छ । विद्यार्थीले भर्ना हुन आउने क्रममा जन्मदर्ता र ग्रेडसिट ल्याउनु पर्ने विद्यालयले जनाएको छ । 

त्यस्तै विद्यालयले कक्षा १ देखी ८ सम्म पूर्ण रुपमा निशुल्क, कक्षा १ देखी ५ सम्मका दलित विद्यार्थी र छात्राहरु छात्रवृत्तिको व्यवस्था गरेको छ ।

प्रधानाध्यापक कठायतका अनुसार जेहेन्दार, अपाङ्ग, मुक्त कमैया, कमलरी र विपन्न वर्गका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ ।  

त्यस्तै बालविकासदेखी कक्षा ३ सम्मका विद्यार्थीका लागि बालमैत्री कक्षा सञ्चालन हुने विद्यालयले जानकारी दिएको छ ।

विद्यालयले कक्षा ८ देखी १२ सम्मका विद्यार्थीका लागि आवश्यकता अनुसार कोचिङ कक्षा, ईलाईब्रेरी, साइन्स ल्याब, कम्प्युटर ल्याबको व्यवस्थाका साथै एलईडी प्रोजेक्टर मार्फत पठनपाठन गर्ने बताएको छ । 

विद्यार्थीका लागि नियमित खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनुका साथै कक्षा ९ र १० मा ऐच्छिक द्वित्तीय तर्फ लेखा विषयको अध्ययन गर्न पाईने प्रधानाध्यापक कठायतले जानकारी दिए ।   

  

 

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update