Hamro Patra
लागुऔषधसहित धनगढीबाट पाँच पक्राउ

टीकापुर, वैशाख १९
कैलालीको सदरमुकाम धनगढीबाट प्रहरीले लागुऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार साँझ प्रहरी बरिष्ठ नायब निरीक्षक लोकेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका वडा नं. १ शिवनगरस्थित टिकटक पुल नजिकबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूको साथबाट ३ ग्राम ६ शय मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थ र ३५ ग्राम हरियो गाँजाको पात बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा धनगढी वडा नं. १५ का ३० वर्षीय रामस्वरुप राना, वडा नं. ८ का ५६ वर्षीय शेरबहादुर चौधरी, कैलारी गाउँपालिका वडा नं. ५ का २५ वर्षीय शिवा चौधरी, कञ्चनपुरका २० वर्षीय रोशन राना तथा भारतको लखिमपुर खिरी निवासी २६ वर्षीय महोमद आसीप रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १९, २०८३  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update