Hamro Patra
टीकापुर–खक्रौला सडकः अन्तिम पटक सकियो म्याद, सम्पन्न हुनेमा आशंका 

टीकापुर, वैशाख २८
हुलाकी राजमार्गअन्तर्गत कैलालीको टीकापुरदेखि खक्रौला सडकको काम समयमै सम्पन्न नहुने भएको छ । 

तीन वटा प्याकेजमा २०७७ मा निर्माण सुरु भएको उक्त सडक खण्ड अन्तर्गत टीकापुर नगरपालिका वडा नं. ४ देखि नारायणपुरसम्मको सडक समयमा निर्माण सम्पन्न नहुने भएको हो । 

कुल २९ किलोमिटर सडकमध्ये हालसम्म दुई प्याकेजका काम सम्पन्न भइसकेका छन् भने अस्नेहरीदेखि खक्रौलासम्मको ११ किलोमिटर सडक पाँच वर्ष बित्दा समेत सम्पन्न हुन सकेको छैन । 

निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम सम्पन्न नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ । ‘सडकमा धुलो उडेर हैरान हुने गरेका छौं’ टीकापुर ४ का पदम विश्वकर्माले भने ‘सँगै ठेक्का लिएका सडकहरु निर्माण सकिएको वर्षदिन बित्दा समेत यो खण्डको काम सम्पन्न हुन सकेको छैन, सडकमा फालिएका गिट्टीले आवातजावतमा समेत समस्या भइरहेको छ ।’ 

२०७७ असार १४ गते सम्झौता भएर २०७९ पुस १३ गते सम्पन्न गर्नुपर्ने आयोजनाको म्याद तीनपटक थप भइसकेको  छ । अन्तिमपटक थपिएको म्याद पनि गत फागुन २५ गते सकिएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यान्वयन कार्यालय धनगढीका इञ्जिनियर प्रमोद चौधरीले जानकारी दिए ।

कुल ३३ करोड २० लाख ६६ हजार ६३० को लागतमा निर्माण सुरु भएको योजनाको काम रायमाझी लाग्वा जगदम्बा जेभीले गर्दै आएको छ । केही वर्ष अर्को ठेकेदारमार्फत आयोजनाको काम भए पनि समयमा सम्पन्न नहुँदा जेभी आफैँले काम शुरु गरेको कम्पनीका निर्देशक भरत रायमाझीले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update