टीकापुर, वैशाख ३१
बर्दियाको मधुवन नगरपालिका वडा नं. १ को भलुनि भटुवा र सोमलपुर सामुदायिक वनको ओराही खोलाको छेउमा पाटे बाघ मृत भेटिएको छ ।
मधुवन नगरपालिका वडा नं. १ का वडाध्यक्ष मिनबहादुर थापाले बिहीबार बिहान बाघ मृत भेटिएको जानकारी दिए ।
मन्दिर निर्माणका लागि बालुवा लिन बिहानै खोलामा पुगेका स्थानीय कामदारले जिउँदै बाघ पानी खान खोलामा आएको र पानी खाएको केहीबेरमा सोही खोलाको किनारमा बाघ मरेको जानकारी आफूलाई दिएको वडाध्यक्ष थापाले बताए ।
उनले आफूले खबर पाएसँगै डिभिजन वन कार्यालय बर्दियाका प्रमुखलाई खबर गर्न खोज्दा मोबाइल अफ आएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुखलाई खबर गरेको बताए ।
बाघको घाँटीमा देखिएको चोटको प्रकृति हेर्दा जङ्गली जनावर मार्न थापेको पासोमा परी घाइते भएकोजस्तो देखिएको उनले बताए ।
‘जङ्गली जनावर मार्न थापेको पासोमा बाघ परेजस्तो देखिन्छ, तार चुँडालेर खोलामा पानी खान आएको घाइते बाघको मृत्यु भएकोजस्तो देखिन्छ, वनका कर्मचारी घटनास्थल पुगेर अनुसन्धान भइरहेको छ’ वडाध्यक्ष थापाले भने ।





