टीकापुर, जेठ १
कैलालीको सुदूरपूर्वी टीकापुर नगरपालिकाका विभिन्न स्थानबाट लागुऔषधसहित ७ जना पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका वडा नं. १ ब्लक नम्बर १४ बाट लागुऔषध खैरो हेरोइन ३ ग्राम ११० मिलिग्राम र चरेस जस्तो देखिने कालो पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही नगरपालिका वडा नं. ९ का २० वर्षीय पुष्प साउँदसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारेको हो ।
यसैगरी, टीकापुर नगरपालिका वडा नं. ९ खक्रौलाबाट २८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित सोही नगरपालिका वडा नं. १ बस्ने ३० वर्षीय कुबेर वनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले बा ७८ प १५१५ नम्बरको स्कुटरमा सवार उनलाई शंका लागि चेकजाँच गर्दा लागूऔषध फेला पारेको जनाएको छ ।
प्रहरीले दुवै घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।





