Hamro Patra
सभापतिकै निर्देशनमा कैलाली कांग्रेसमा तालाबन्दी

टीकापुर, जेठ १
पार्टी सभापति नारायणदत्त भट्टको निर्देशनमा नेपाली काँग्रेस कैलालीको पार्टी कार्यालय धनगढीमा तालाबन्दी गरिएको छ ।

पार्टी केन्द्रीय कार्यालयले जेठ २१ गतेभित्र क्रियाशील सदस्यता अध्यावधी गरिसक्नुपर्ने निर्णय गरेसँगै जिल्ला सभापति भट्टको निर्देशनमा पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो ।

बिहीबार बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले सदस्यता वितरण, छुट नवीकरण र अद्यावधिक गर्ने कार्य जेठ २१ गतेभित्र सक्ने निर्णय गरेको थियो । 

उक्त निर्णयको बिरोधमा पूर्वसभापति शेरबहादुर देउवा समूह रहेको छ । कैलाली सभापति भट्ट पनि देउवा समूहका नेता हुन् । उनको नेतृत्वमा नै पार्टी कार्यालयमा ताला लगाइएको स्रोतले जानकारी दिएको छ ।

कैलालीको धनगढीस्थित पार्टी कार्यालयमा वडा सभापति, क्षेत्रीय सभापति लगायत नेता तथा कार्यकर्ता जम्मा भएका छन् । पार्टी कार्यालयको मुल गेट र भित्र कार्यकक्षमा ताला लागेको छ ।

कार्यालयको पछाडि पट्टी सिडी लगाएर नेता तथा कार्यकर्ता भित्र छिरे पनि सबै कोठामा ताला लगाइएकाले कामकाज अबरुद्ध भएको छ ।

विशेष महाधिबेशनको बिरुद्धमा रहेकाहरूले कांग्रेस केन्द्रीय समितिले हाल सदस्यता अद्यावधिक गर्ने भनिएको निर्णय कार्यान्वयन नगर्ने बताइरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update