Hamro Patra
महासंघका केन्द्रिय सदस्य खड्कालाई संघको सम्मान

टीकापुर, जेठ २
नेपाल उद्योग वाणिज्य महासंघको खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष खड्कालाई संघले सम्मान गरेको छ । 

हालै सम्पन्न महासंघको साधारण सभाबाट खुल्ला केन्द्रिय सदस्यमा कुल १ शय २९ मत मध्ये १ शय २ मत प्राप्त गरी विजयी भएका खड्कालाई संघले सम्मान गरेको हो । 

खड्का टीकापुर क्षेत्रबाटै खुल्ला सदस्यमा निर्वाचित हुने पहिलो उम्मेदवार हुन् । सम्मान कार्यक्रममा बोल्दै टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नरेशकुमार खत्रीले अध्यक्ष खड्काको जीतले महासंघ र टीकापुरको सम्बन्ध थप प्रभावकारी हुने बताए । 

‘खड्काको जीतले महासंघ र टीकापुरबीचको सम्बन्ध थप प्रभावकारी हुनेछ’ पूर्वअध्यक्ष खत्रीले भने ‘टीकापुर क्षेत्रका समग्र मुद्दाबारे महासंघमार्फत् सरकारसम्म पुर्याउन महत्वपूर्ण भूमिका हुने विश्वास लिएको छु ।’ उनले खड्काको जीत टीकापुरसहित सुदूरपश्चिम प्रदेशको नीजि क्षेत्रकै जीत भएको दाबी गरे । 

कार्यक्रममा बोल्दै संघका सल्लाहकार संयोजक तपेन्द्र स्वाँरले निजी क्षेत्रका समस्याबारे महासंघमार्फत् सरकारको ध्यानाकर्षण गराउनेतर्फ ध्यान दिन आग्रह गर्दै खड्काको जीतले टीकापुर उद्योग वाणिज्य संघको गरिमा बढेको  बताए । 

कार्यक्रममा इलेक्ट्रो एसोसियनसनका अध्यक्ष गगन विश्वकर्मा, महिला उद्यमी रेखा नेपाली लगायतले शुभकामना दिएका थिए । 

नवनिर्वाचित अध्यक्ष खड्काले सबै व्यवसायीको हितका लागि आफू महासंघमार्फत् सशक्त आवाज उठाउन प्रतिबद्ध रहेको बताए । ‘यो हामी सबै निजी क्षेत्रको जीत हो, टीकापुर क्षेत्रको जीत हो’ खड्काले भने ‘यो जिम्मेवारी प्रदान गर्नुहुने सबै नगर तथा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

कार्यक्रममा नेपाल निर्माण व्यवसायी संघ कैलालीको सदस्यमा निर्वाचित उद्योग वाणिज्य संघका सदस्य दीपेन्द्र साउँदलाई समेत सम्मान गरिएको छ ।

हालै सम्पन्न अधिवेशनबाट साउँद भुगोलतर्फबाट सर्वसम्मत चयन भएका थिए ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update