Hamro Patra
घरभित्रै श्रीमान्‌को हत्याः सोधपुछका लागि श्रीमती नियन्त्रणमा

कञ्चनपुर, जेठ ४ 
कञ्चनपुरमा घरभित्रै हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नं. ५, रकुनी टोलका ४५ वर्षीय लीलाराम सुनारको शव हत्या गरिएको अवस्थामा आफ्‌नै घरभित्रै फेला परेको हो ।

सोमबार बिहान घरभित्र धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

सुनारकी श्रीमती यशोदाले सोमबार ७ बजे घटनाबारे जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको शाहीले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा सुनारको धारिलो हतियार प्रहार गरी हत्या गरिएको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।

सुनारको घाँटी तथा शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको पाइएको छ । घटनाबारे सोधपुछका लागि मृतककी श्रीमती यशोदालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update