टीकापुर, जेठ ५
चालु आर्थिक वर्षको दुई महिना बाँकी रहँदा टीकापुर नगरपालिकाले ४२ प्रतिशत वित्तीय प्रगति गरेको छ । पालिकाले चालु बजेटमा ५६.२ र पुँजीगत बजेटतर्फ १९.२३ प्रतिशत गरी जम्मा ४२.५९ प्रतिशत वित्तीय प्रगति गरेको हो ।
पालिकाले बैशाख मसान्तसम्म चालु बजेटतर्फ विनियोजित ६५ करोड ८७ लाख ५९ हजार ७६१ रुपैयाँ बजेट विनियोजन गरेकोमा ३७ करोड २ लाख २४ हजार ५३०.६९ रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै ३८ करोड ३४ लाख ८० हजार ४३ रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको पालिकाले वैशाख मसान्तसम्म ७ करोड ३७ लाख ३१ हजार १ शय ६५ रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले मंसिर महिनाबाट पुँजीगत खर्चका कार्यक्रमहरु अगाडि बढेको बताउँदै सबै कार्यक्रमको सम्झौता भइसकेको बताए ।
‘भौतिक पूर्वाधार निर्माणको बिलहरु भुक्तानी हुने क्रममा छन्, त्यो भुक्तानी भएको खण्डमा आर्थिक प्रगतिमा उल्लेख्य वृद्धि हुन्छ’ प्रमुख प्रशासकीय अधिकृत धितालले भने ‘सबै कार्यक्रमहरुको सम्झौता भइसकेको छ, मूल्यवृद्धि लगायतका कारणले निर्माण कार्यमा केही ढिलाई भएको हो ।’
चालु खर्चतर्फ कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुको तलब भत्ता समेटिएकाले ठूलो रकम खर्च भएको हो ।






