टीकापुर, जेठ ८
संघीय सदनमा बजेट निर्माण प्रक्रियाबारे चर्काचर्की भइरहेका बेला कैलालीका स्थानीय पालिकाहरुले बजेट निर्माणको समग्र प्रक्रियामा युवाहरुलाई सहभागी गराउनु पर्ने बताएका छन् ।
टीकापुरको जेसिजले टीकापुरमा आयोजना गरेको सार्वजनिक वित्तीय व्यवस्थापनका लागि युवा अनुशिक्षण कार्यक्रमका सहभागी युवाहरुले पालिकाहरुले बजेट निर्माण प्रक्रियामा युवाहरुलाई सहभागी गराउनु पर्ने बताएका हुन् ।
पालिकाले बजेट निर्माणमा युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आए पनि पूर्व बजेट छलफल, टोलस्तरीय छलफल तथा पालिकास्तरीय छलफलहरुमा युवाको सहभागिता सुनिश्चित गर्न युवाहरुले माग गरेका हुन् ।
‘बजेट निर्माणको प्रक्रियामा युवाहरुलाई सुझाव, सल्लाह दिन, युवा लक्षित कार्यक्रमबारे जानकारी दिन युवालाई टोलस्तरबाटै सहभागी गराउनु पर्दछ’ टीकापुर नगरपालिका वडा नं. ६ का ज्ञानबहादुर रावलले भने ‘वडास्तरीय भेलामा समेत युवालाई छलफलमा नबोलाउँदा पालिकाको बजेट के कस्तो बन्दैछ, भन्ने बारेमा युवाहरु अनविज्ञ हुने गरेका छन् ।’
टीकापुर नगरपालिका वडा नं. २ का शकंर तिरुवा सार्वजनिक वित्तीय व्यवस्थापन का विभिन्न चरणहरुमा युवाहरुलाई सहभागिता गराउनु पर्ने बताउँछन् ।
‘बजेट तथा कार्यक्रमबारे युवाहरुलाई छलफलमा सहभागी नगराउँदा युवापुस्तामा स्थानीय सरकारका कामप्रति नकारात्मक भावना बढिरहेको छ’ तिरुवाले भने ‘युवाकै लागि बनाइएका कार्यक्रमबारे युवालाई नै सहभागी गराउँदा दुबै पक्षलाई सकारात्मक बन्न मद्दत पुग्छ ।’
स्थानीय पालिकाहरुमा बढ्दै गरेको बेरुजु, बेरुजुको फछ्र्यौट, योजनाहरुको सही अनुगमन र आयव्ययको पारदर्शिता कायम गर्न पालिकाहरु चुक्दै गएको युवाहरु बताउँछन् । टीकापुर नगरपालिका वडा नं. ७ का ममता ढुंगानाले पालिकाले सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी सचेतना जगाउन आवश्यक रहेको बताउँछन् ।
‘पालिकाको बेरुजु छ भन्ने बित्तिकै भ्रष्टाचार नै गर्यो भन्ने मानसिकता बनेको हुन्छ’ व्यवस्थापन विषयमा स्नातक अध्ययनरत ढुंगानाले भनिन् ‘सबै बेरुजु भ्रष्टाचार नहुन सक्छ, यसका लागि सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी सचेतना आवश्यक छ ।’
युवाहरुले स्थानीय पालिकाका बजेट निर्माण, विनियोजन, कार्यान्वयन, खरिद, अनुगमन तथा निगरानीमा अग्रसरता लिनुपर्ने बताउँछन्, सार्वजनिक वित्तीय व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएका संस्था कमिटेडका परियोजना व्यवस्थापक अनिरुद्र न्यौपाने ।
‘बेरुजु, फछ्र्यौट, बजेट निर्माणका बेला मात्रै होइन, बजेटको समग्र प्रक्रियामा युवा, महिला, दलित, आदिवासी, जनजाति सबै वर्ग क्षेत्रले ध्यान दिन जरुरी छ’ न्यौपानेले भने ‘यी सबै क्षेत्र, वर्गले सार्वजनिक वित्तीय व्यवस्थापनमा ध्यान दिन सके वित्तीय सुशासन कायम हुनसक्छ ।’
स्थानीय तहले सात चरणमा बजेट निर्माण गर्ने भए पनि लक्षित समूहहरुको सहभागिता पर्याप्त गराउन नसकेको बताइन्छ ।
टीकापुर जेसीजका अध्यक्ष कमलराज सुवेदीको अध्यक्षता भएको कार्यक्रममा कमिटेडका परियोजना व्यवस्थापक अनिरुद्र न्यौपानेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा टीकापुर, जानकी, जोशीपुर र भजनी नगरपालिकाका युवाहरुको सहभागिता रहेको थियो । कमिटेडको आर्थिक सहयोग र टीकापुर जेसिजको सहकार्यमा आयोजित कार्यक्रममा जेसिजका कार्यकारी उपाध्यक्ष झलनाथ खनालले स्वागत गरेका थिए भने सञ्चालन महासचिव टेकेन्द्रसिंह विष्टले गरेका थिए ।





