Hamro Patra
महाकाली नदीमा प्रहरीका दुई जवान बेपत्ता

डडेल्धुरा, वैशाख १७
महाकाली नदी किनारबाट दुई जना युवा बेपत्ता भएका छन् । डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ५ स्थित महाकाली नदी किनारबाट सशस्त्र प्रहरीको एक जवानसहित दुई जना बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहका अनुसार बेपत्ता हुनेमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुनमगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापामगर रहेका छन् ।

शुक्रबारदेखि उहाँहरु दुई जना सम्पर्कविहीन भएको डीएसपी सिंहले जानकारी दिएका छन् । बेपत्ता दुबै जनाको नाता मामाभान्जा पर्ने बुझिएको उनले बताए ।

महाकाली नदी किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीमा बगेको हुनसक्ने आशंका गरिएको छ । घटनापछि सुरक्षा निकायले उनीहरूको खोजी कार्यलाई तीव्र बनाएको छ ।

डीएसपी सिंहले बेपत्ता व्यक्तिहरूको खोजी जारी रहेको जानकारी दिए । उनका अनुसार प्रहरी तथा अन्य सुरक्षा निकाय परिचालन गरी सम्भावित क्षेत्रहरूमा खोजतलास भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update