टीकापुर, जेठ १७
कैलालीको गोदावरी नगरपालिका वडा नं. २ अत्तरियाबाट २० ग्रामभन्दा बढी हेरोइनसहित तीन जना पक्राउ परेका छन् ।
लागुऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले शुक्रबार बिहान कोठामा छापा मारेको थियो ।
छापाका क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ६ का ४३ वर्षीय धर्मानन्द भट्ट, उनकी १७ वर्षीया छोरी अस्मिता भट्ट र गोदावरी नगरपालिका वडा नं. २ का ४४ वर्षीय गोपाल तिमिल्सेना लागुऔषध सेवन गरिरहेको अवस्थामा फेला परेका थिए ।
तलासी गर्दा उनीहरूले लुकाइछिपाइ राखेको २० ग्राम २४० मिलिग्राम हेरोइनजस्तो धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएसपी हिरासिंह महराको नेतृत्वमा लागुऔषधविरुद्ध गरिएको यो पहिलो ठूलो अपरेसन भएको प्रहरीले जनाएको छ ।




