टीकापुर, जेठ १९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेस संसदीय दल नेता कमलबहादुर शाहलाई दल नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएको छ ।
पार्टी संसदीय दल कार्यालयमा आज मुख्यमन्त्रीसमेत रहेका दल नेता शाहविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको सांसदहरूले बताएका छन् ।
सांसद दिवान सिंह विष्टसहित ९ जना सांसदहरूले दल नेताबाट शाहलाई हटाउनुपर्ने माग गर्दै अविश्वास प्रस्ताव राखेका हुन् । सांसद विष्टले दल नेता शाहविरूद्ध अविश्वास प्रस्ताव राखिएको बताए ।
‘सुदूरपश्चिममा हामी १८ जना सांसद हौं, त्यसमध्ये प्रकाश देउवा अमेरिकामा हुनुहुन्छ’ उनले भने ‘अहिले कायम रहेको १७ जनाको बहुमत ९ जना दल नेता परिवर्तनको पक्षमा हुनुहुन्छ ।’
अब दल नेतासमेत रहेका मुख्यमन्त्री शाहले पदबाट राजीनामा दिनुपर्ने उनको भनाइ छ । कांग्रेसको असन्तुष्ट सांसदहरूले विष्टलाई दल नेता बनाउनुपर्ने बताइरहेका छन् ।
दल नेतासमेत रहेका मुख्यमन्त्री शाह निवर्तमान सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनी देउवा पक्षले हालै सुदूरपश्चिममा गरेको भेलामा पनि सहभागी थिए ।
विगतमा बागमती प्रदेशमा पनि संसदीय दल नेता परिवर्तन भएको थियो । बहादुरसिं लामा तामाङलाई संसदीय दल नेताबाट हटाउन कांग्रेस सांसदहरूले अविश्वास प्रस्ताव राखेका थिए भने त्यसपछि चुनाव गरेर ईन्द्रबहादुर बानियाँ संसदीय दल नेता हुँदै मुख्यमन्त्री बनेका थिए ।




