Hamro Patra
अन्तर व्यवस्थापिका सम्मेलन टीकापुरमा शुरु

टीकापुर, जेठ २३

प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाबाट हुने कानुन निर्माण सम्बन्धी छलफल गर्न आजदेखि कैलालीको टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ । 

अन्तर व्यवस्थापिका सम्मेलनका लागि प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सम्मेलनको उद्घाटन गरेका छन्।  

अन्तर व्यवस्थापिका मञ्चको आयोजना तथा सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा टीकापुरस्थित होटल सिद्धार्थमा हुने अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी हुन उनीहरु टीकापुर आइपुगेका हुन् । 

सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीका अनुसार सम्मेलनमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, महासचिव, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, सचिव र अन्य छ प्रदेशका सभामुख, उपसभामुख र सचिवहरुको सहभागिता हुनेछन् । 

सभामुख भण्डारीका उनका अनुसार संघीय संसद् र प्रदेशसभा सचिवालयका सचिवलगायतका कर्मचारीको समेत सहभागिता हुनेछ । यो सम्मेलन सुदूरपश्चिममा पहिलोपटक भइरहेको हो ।

'सम्मेलनमा कानुन निर्माण, कार्यान्वयनको अवस्था, सभा सञ्चालन, असल अभ्यास आदानप्रदान लगायतका विषयमा केन्द्रित छलफल हुनेछ' सभामुख भण्डारीले अन्नपूर्ण पोष्टसग भने 'विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन, ती कार्यपत्रमाथि प्यानल डिस्कसनसहित २४ गते पत्रकार सम्मेलनमार्फत टीकापुर घोषणा पत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ।'

‘सम्मेलन मुख्यगरी कानुन निर्माण तथा संसदीय काम कारबाही कसरी व्यवस्थित, प्रभावकारी र मर्यादित बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनेछ,’ सभामुख भण्डारीले भने, ‘सम्मेलनमा सभामुख, उपसभामुख तथा संसद्का सचिवका छुट्टाछुट्टै समुह बनाएर यी विषयहरूमा छलफल गरिनेछ ।’

प्रकाशित मिति: शनिबार, जेठ २३, २०८३  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update