Hamro Patra
नौ बुँदे टीकापुर सन्देश पत्र जारी गर्दै अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

 टीकापुर, जेठ २४

अन्तर-व्यवस्थापिका मश्नको आयोजनामा टीकापुरमा आयोजित अन्तर व्यवस्थापिका एघारौ सम्मेलन नौ बुँदे टीकापुर सन्देश पत्र जारी गर्दै सम्पन्न भएको छ। 

मुलुकको संविधानले परिकल्पना गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मलाई आत्मसात गर्दै सङ्घ, प्रदेश र स्थानीय तहका कानून निर्माण र व्यवस्थापकीय कार्य प्रक्रियालाई सहकारिता, समन्वय र सहअस्तित्वको संवैधानिक सिद्धान्त अनुरुप प्रभावकारी कार्यान्वयन गर्ने गराउने उद्देश्यका साथ सम्मेलन सम्पन्न भएको हो । 

संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र सातवटै प्रदेशका सभामुख, उपसभामुख, महसचिव र सचिवहरुको सहभागितामा सम्पन्न सम्मेलनपछि जारी टीकापुर सन्देश पत्रमा 'सङ्घ, प्रदेश र स्थानीय तहबाट हुने कानून निर्माण र संसदीय काम कारवाहीलाई छिटो, छरितो र पारदर्शी तुल्याउन, संसदीय गतिविधिहरुमा सूचना प्रविधिमार्फत नागरिक सहभागिता सुनिश्चित गर्न एवम् तहगत व्यवस्थापिकाहरुवीच सहकार्य र अन्तरआवद्धतालाई सूचना प्रविधियुक्त बनाउन सङ्घीय संसद तथा सबै प्रदेश सभाहरुले डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने' भनिएको छ ‌। 

सन्देश पत्रमा तहगत संसद/सभाहरुवीच प्रभावकारी सहकार्य र अन्तरआवद्धताका लागि सङ्घीय संसदसँग समन्वय गर्न सबै प्रदेश सभाले सङ्घ-प्रदेश समन्वय शाखा/इकाई स्थापना गर्ने, साथै अन्तर व्यवस्थापिका मञ्चको सचिवालयको कार्य सङ्घीय संसद सचिवालयको प्रदेश सभा सम्पर्क तथा समन्वय शाखाले गर्ने भनिएको छ। 

सङ्घीय संसद अन्तर्गत एक व्यवस्थापिकीय प्रतिष्ठान स्थापनाको लागि विशेष पहल गर्ने, सरकारको नीति तथा कार्यक्रम, पूर्व बजेट छलफल एवम् संसदीय बजेट निर्माण कार्यलाई प्रभावकारी र नतिजामूलक बनाउन आगामी आर्थिक वर्षभित्र सङ्घीय संसद् र प्रदेश सभाबाट आवश्यक कानूनी व्यवस्था सहित संसदीय वजेट कार्यालय स्थापनाको कार्य अघि बढाउने उल्लेख छ। 

त्यस्तै सङ्घ, प्रदेश र स्थानीय तहको उदाहरणीय विधायिकी अभ्यास तथा व्यवस्थापिकीय कार्य कुशलता आदान प्रदान गर्न अन्तरक्रिया, छलफल तथा समीक्षा कार्यक्रमहरु आयोजना गर्ने, प्रदेश सभाहरूको कर्मचारी व्यवस्थापन गर्न सङ्घीय संसद र प्रदेश सभाको कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी आवश्यक कानून निर्माण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने उल्लेख गरिएको छ।

सन्देश पत्रमा अन्तर व्यवस्थापिका मञ्चको बाहौ सम्मेलन कर्णाली प्रदेशमा आयोजना गर्ने उल्लेख छ। 

प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभा उपाध्यक्ष डा. लिला कुमारी भण्डारी, कर्णाली प्रदेश सभा सभामुख नन्दा गुरुङ्ग, कोशी प्रदेश सभा सभामुख अम्बर बहादुर विष्टले हस्ताक्षर गरेका छन्। 

त्यस्तै गण्डकी प्रदेश सभा सभामुख कृष्णप्रसाद धिताल, मधेश प्रदेश सभा सभामुख राम आशिष यादव, लुम्बिनी प्रदेश सभा सभामुख तुलाराम घर्तीमगर, सुदूरपश्चिम प्रदेश सभा सभामुख भीमबहादुर भण्डारी, कर्णाली प्रदेश सभा उपसभामुख, यसोदा न्यौपाने, कोशी प्रदेश सभा उपसभामुख, सृजना दनुवार, गण्डकी प्रदेश सभा उपसभामुख विना कुमारी थापा, बागमती प्रदेश सभा उपसभामुख अप्सरा चापागाईं,मधेश प्रदेश सभा उपसभामुख, वबिता कुमारी राउत ईसर, लुम्बिनी प्रदेश सभा उपसभामुख, मेनुका खाँड के.सी., सुदूरपश्चिम प्रदेश सभा उपसभामुख कोइली देवी चौधरीले सन्देश पत्रमा हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update