टीकापुर, जेठ ३०
कैलालीको टीकापुर र बर्दियाको दौलतपुर जोड्ने कर्णाली नदीमा अत्याधुनिक झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा पुगेको छ ।
टीकापुर नगरपालिका वडा नं. ५ दौलतपुरको कर्णाली नदीमा निर्माण भइरहेको झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेको हो ।
झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि टीकापुर र बर्दियाका बासिन्दालाई छोटो मार्गबाट दुई जिल्ला वारपार गर्न सहज हुनेछ ।
दश महिना अगाडिदेखि निर्माण शुरु गरेको थानी निर्माण सेवा काठमाडौंका साइड इञ्चार्ज बिक्रम बस्नेतका अनुसार पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बस्नेतले असार पहिलो साता नै पुल हस्तान्तरण गरिने बताए ।
‘भ्याटसहित १५ करोड ७३ लाख लागतमा ४ शय ८२ मिटर लम्बाई र १ मिटर ६० सेन्टीमिटर चौडाईको पुल निर्माण कार्य सकिन थालेको छ’ बस्नेतले भने ‘हामी असार पहिलो साता नै झोलुङ्गे पुल हस्तान्तरण गर्ने तयारीमा छौं ।’
पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवतजावत सहज हुनेछ भने टीकापुर र राजापुर क्षेत्रमा व्यापारिक गतिविधिमा वृद्धि हुने स्थानीयहरु बताउँछन् ।






