Hamro Patra
रास्वपा कैलालीको निर्वाचन केन्द्रद्धारा बदरः पुनः निर्वाचन हुने

टीकापुर, जेठ ३१
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण नतिजा बदर गरेको   छ । 
आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रमा कैलाली जिल्ला अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रिया विधान तथा निर्वाचन कार्यविधिविपरीत भएको निष्कर्ष निकाल्दै सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणाम रद्द गरिएको हो ।

आयोगका अनुसार निर्वाचन प्रक्रियामा न्यूनतम आधारभूत विधि र प्रक्रिया पालना नभएको, मतदान तथा मत गणनामा स्थापित नियम उल्लंघन भएको, अधिकांश मुख्य उम्मेदवारहरूले लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको तथा योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नभएको पाइएको छ ।

आयोगले यस्ता गैर प्रक्रियागत र विधानविपरीतका कार्यले निर्वाचनको निष्पक्षता र वैधता खण्डित भएको ठहर गर्दै कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित नतिजा पूर्ण रूपमा बदर गर्ने निर्णय गरेको जनाएको छ ।

यसअघि विवादकाबीच सम्पन्न निर्वाचनबाट कविन्द्र ठकुल्ला जिल्ला सभापतिमा निर्वाचित भएका थिए । सभापतिका अर्का उम्मेदवार महेश कुमार चौधरी ले ३७ मत र हरी रेग्मी ले २२ मत प्राप्त गरेका थिए ।

तर निर्वाचनअघि नै अध्यक्षका उम्मेदवार हरी रेग्मी र महेश चौधरीले निर्वाचन समिति अवैधानिक रहेको तथा मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै निर्वाचन प्रक्रिया बहिष्कार गरेका थिए । उनीहरूले निर्वाचन रोक्न माग गर्दै उजुरीसमेत दिएका थिए ।

केन्द्रीय निर्वाचन आयोगले प्राप्त उजुरी र संलग्न प्रमाणहरूको अध्ययनपछि निर्वाचन प्रक्रिया त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको हो। आयोगले अब कैलालीमा पुनः निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले निर्वाचन सम्पन्न गर्न छिट्टै नयाँ कार्यतालिका सार्वजनिक गर्ने तथा केन्द्रीय प्रतिनिधि टोली खटाउने जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update