टीकापुर, असार २
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिमको सभापतिमा इञ्जिनियर प्रकाश विष्ट दोहोरिएका छन् ।
हिजो राति सम्पन्न मतदानबाट सभापतिमा निर्वाचित भएका टीकापुर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दा विष्टले ३५८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाएका छन् ।
कुल खसेको मतको ५१ प्रतिशत कटाउने उम्मेदवार विजयी हुने व्यवस्था अनुसार विष्ट पहिलो चरणबाटै निर्वाचित भएका हुन् ।
सभापतिमा निर्वाचित विष्ट रास्वपा सुदूरपश्चिमका संस्थापक सभापति थिए । विष्टसँग पराजित भएका धामी प्रतिनिधि सभा क्षेत्र नं. १, कञ्चनपुरबाट विजयी भएका प्रतिनिधि सभा सदस्य हुन् । सभापतिसहित १६ भूगोल र १५ खुला तथा समावेशी सदस्य चयन गर्न मतदान भएको थियो ।
पहिलो चरणमै सभापति निर्वाचित भएकोले अब उपसभापति, महामन्त्री र सहमहामन्त्री (२) पदका लागि निर्वाचन हुनेछ । कार्य समिति सदस्य पदको निर्वाचन पनि दोस्रो चरणमा मतदान हुनेछ ।






