Hamro Patra
ऐतिहासिक धुलीकोटका सम्पदाको अध्ययन शुरु

टीकापुर, असार ६
कैलालीको ऐतिहासिक धुलीकोट दरबार क्षेत्रका पुरात्तात्विक सम्पदाको संरक्षणका लागि पुरातत्व विभागले औपचारिक रूपमा अध्ययन तथा तथ्याङ्क सङ्कलन गर्न थालेको छ । 

जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ७ राजकाँडा, धुलीकोट क्षेत्रमा रहेका दरबारसँग सम्बन्धित पुरात्तात्विक महत्वका क्षेत्र खण्डहरमा परिणत भएर चोरिने र मासिँदै अतिक्रमणको चपेटामा पर्न थालेपछि विभागले अध्ययन शुरु गरेको हो ।

विशेषगरी दरबार क्षेत्र, टुँडिखेल, रानीकुवा, पानीपँधेरो, ओखलहरू, हात्तीखाल, हात्तीढुङ्गा, भैरवस्थान, देवल, देवीस्थान, वास्तु किल्ला अतिक्रमण हुन थालेपछि संरक्षणका लागि पुरातत्व विभागलाई पत्रचार गरिएको थियो ।

विगत केही वर्षदेखि त्यहाँका स्थानीयवासीको सक्रियता विशेष गरी रतनसिंह मुडभरी र कमल शाहीको पहलमा पुरातत्व विभागले त्यहाँका पुरात्तात्विक सम्पदाको संरक्षणका लागि कार्य थालेको जनाइएको छ । विभागले गतवर्ष वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा दरबार क्षेत्रमा भएको अतिक्रमण हटाई वरिष्ठ पुरातत्व अधिकृतको टोलीमार्फत पुरात्तात्विक सम्पदाको निरीक्षण गरेको थियो ।

पुरात्तत्व विभागको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत धुलीकोट दरबार क्षेत्रको अध्ययन गरेर प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको दोस्रो चरणमा प्राविधिक टोलीले स्थलगत सर्भे गरेर तथ्याङ्क सङ्कलन शुरु गरेको धुलीकोट सम्पदा संरक्षण समितिका सदस्य सचिव कमल शाहीले जानकारी दिएका छन्‌ ।

प्रतिवेदन पेस भएपछि आगामी वर्ष उत्खनन गरेर थप अध्ययन अनुसन्धान गरिने तथा संरक्षण योजना बनाई मर्मत संरक्षण कार्य अघि बढाइने पुरातत्व विभागका उपसचिव अरुण नकर्मीले बताए । धुलीकोटबाट कर्णाली नदीलगायत सुर्खेतका गाउँ र हिमाल देखिन्छन् भने दक्षिण तराई खण्ड छर्लङ्ङ देखिन्छ  । 

प्राध्यापक डाक्टर राजाराम सुवेदीका अनुसार धुलीकोटलाई डाँडादरा सुर्खेत र कैलालीको बडाचौरबाट हेर्दा घरको धुरी जस्तै देखिने भएकाले धुरीकोट भन्दाभन्दै धुलीकोट बन्न पुगेको बताइन्छ । 

नेपाल एकीकरण हुनु पूर्व धुलीकोटमा बाइसेचौबिसे राज्य अन्तर्गत राजाले राज्य गरेको इतिहासकारले उल्लेख गरेका छन्‌ । धुलीकोट राज्यसँग जोडिएका विभिन्न पौराणिक पुरातत्व अहिले पनि उक्त क्षेत्रमा देख्न सकिने स्थानीय बताउँछन्‌ । बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको कर्णाली चिसापानीबाट तीन घण्टा पैदल यात्रामा राजकाँडा धुलीकोट पुग्न सकिन्छ ।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update