टीकापुर, असार ११
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु भएको छ भने सहसेनानी घाइते भएका छन् ।
जिल्लाको मोहन्याल गाउँपालिका वडा नं. ७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमालविक्रम विष्टको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
डिएसपी तिमिल्सिनाका अनुसार कञ्चनपुरका बासिन्दा विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो १२ बजेतिर मृत्यु भएको हो । उनी नेपाली सेनामा हुद्दा पदमा कार्यरत थिए ।
सोही घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको डिएसपी तिमिल्सिनाले बताए ।
जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । बिहीबार बिहान ९ः१७ बजे सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका नेपाली सेनाका मृतक बिष्ट ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए । विस्फोटबाट उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो ।








