टीकापुर, असार १३
तीन दिनदेखि बेपत्ता धनगढीका एक बालकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका वडा नं. १७ को उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरीको शव हिजो स्थानीय जंगलमा फेला परेको हो ।
धनगढी उपमहानगरपालिका र गौरीगङ्गा नगरपालिकाको सीमा क्षेत्रमा रहेको कालिका सामुदायिक वन भित्र तनुजको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार प्रहरी र स्थानीयले खोज्ने क्रममा जंगलमा तनुज मृत अवस्थामा भेटिएका हुन् ।
उनले चढ्दै आएको साइकल र चप्पल भने शव नजिकै फेला परेको प्रहरीले जनाएको छ । आधा सडेको अवस्थामा भेटिएको शव रहेको ठाउँमा रगत लत्तपतिएका ढुंगा पनि भेटिएका छन् । प्रहरीले बालक मृत भेटिएको घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूको पहिचान भने सार्वजनिक गरिएको छैन ।
उर्मा बोर्डिङ स्कुलमा दुई कक्षामा अध्ययनरत तनुज असार १० गते रोपाइँ गरेर घर फर्किने क्रममा बेपत्ता भएका थिए । तनुजलाई घरमा नदेखेपछि उनका बाबुआमाले खोजतलास सुरू गरेका थिए । सोमवार बाटो हिँड्दा दुर्गन्ध आएपछि स्थानीयको सहयोगमा प्रहरीले तनुजको शव फेला पारेको स्थानीय पुष्पराज रानाले बताए ।
तनुजको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको कैलाली प्रहरीले जनाएको छ । शव झाडीमा लुकाएको अवस्थामा फेला परेको हो भने उनले चढ्ने साइकल पनि घटनास्थल नजिकै फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सहप्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले तनुजको कानमा मुद्रा फेला नपरेको बताए । उनले अनुसन्धानका लागि चार जना नियन्त्रणमा लिएर सोधपुछ भइरहेको बताए ।








