Hamro Patra
कैलाली–कञ्चनपुरबाट खैरो हेरोइनसहित ८ पक्राउ

टीकापुर, असार १३
कैलाली–कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । प्रहरीले कैलाली र कञ्चनपुरका फरक–फरक स्थानबाट आठ जनालाई लागुऔषध खैरो हेरोइन शुक्रबार पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले शुक्रबार पक्राउ परेका सबै युवा २८ वर्षमुनिका रहेका जनाएको छ ।

मिडिया समन्वय शाखाका अनुसार टीकापुर नगरपालिका वडा नं. ९ खक्रौलाबाट चार सय मिलिग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका वडा नं. ८ का २७ वर्षीय अरुण चौधरी र २७ वर्षकै धनप्रसाद अधिकारी रहेका छन् ।

उता, गोदावरी नगरपालिका वडा नं. ८ स्याउलेबाट खैरो हेरोइनसहित १८ वर्षीय किशोरलाई पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले एक सय ९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका वडा नं. २ मिलन चोकबाट एक ग्राम ६० मिलिग्राम खैरो हेरोइनसहित तीन जना प्रहरी परेका छन् ।पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका वडा नं. ७ का १९ वर्षीय भोजराज ओझा, १९ वर्षीय अर्जुन नेपाली र १९ वर्षीय बिष्णु खत्री रहेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो ।

यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं. ६ सिसैयाका २८ वर्षीय सुरेन्द्र राना पनि खैरो हेरोइनसहित पक्राउ परेका छन् । रानाको साथबाट पाँच सय मिलिग्राम खैरो हेरोइन बरामद गरिएको सुडा प्रहरी चौकीले जनाएको छ ।

वेदकोट नगरपालिका वडा नं. ७ मा पर्ने मन्दिरपुरका २६ वर्षीय सुनिल डगौरा समेत खैरो हेरोइनसहित पक्राउ परेका छन् । सुडा प्रहरीले उनलाई नौ सय मिलिग्राम खैरो हेरोइन र नगद आठ हजार ४४५ रूपैयाँसहित पक्राउ गरिएको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार १३, २०८३  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update