धनगढी, असार १४
विज्ञान, प्रविधि तथा अनुसन्धान क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका चार जना युवा वैज्ञानिकलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्मान गरेका छन् ।
धनगढीमा आज प्रदेश युवा परिषद्ले आयोजना गरेको ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम–२०८३’ मा मुख्यमन्त्री शाहले उनीहरूलाई नगद पुरस्कार र कदरपत्रसहित सम्मान गरेका हुन् ।
सम्मानित हुने युवा वैज्ञानिकहरूमा कैलालीको टीकापुरका अरुण लुहार, बाजुराको त्रिवेणीका प्रकाशबहादुर साउँद, धनगढीका इन्द्र ओझा र कैलालीको गोदावरीकी बिन्दु पन्त रहेका छन् ।
यसअघि साउन २७ गते अन्तर्राष्ट्रिय युवा परिषद् २०२५ को अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले नवप्रवर्तन क्षेत्रमा क्रियाशील युवाहरूलाई सम्मान गर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सूचना तथा प्रविधि क्षेत्रलाई युवासँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले समाज रूपान्तरण, सकारात्मक परिवर्तन र समाजलाई सही दिशातर्फ अघि बढाउन युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताए ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्रबहादुर सावदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री मधु भारतीलगायत वक्ताहरूले युवाहरूको क्षमता अभिवृद्धि र नवप्रवर्तन प्रवद्र्धनका लागि राज्यले अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।








