टीकापुर, असार १७
कार्यवाहक नगर प्रमुख सम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेका बेला टीकापुर नगरपालिकाको १९औ नगर सभा सम्पन्न भएको छ ।
नगर सभाका जेष्ठ सदस्य जयराम थारुको अध्यक्षता भएको नगर सभाले टीकापुर नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को निति तथा कार्यक्रम स्वीकृत गरेको हो । वडा नम्बर १ का अध्यक्ष मोहन वि.क. लुहारले प्रस्तुत गरेको निति तथा कार्यक्रम पारित भएको छ ।
टीकापुर नगरपालिकाको १९औ नगर सभामा वडा नम्वर २ का अध्यक्ष दिपक चौधरीले टीकापुर नगरपालिकाको आर्थिक विधेयक २०८३ प्रस्तुत गरेका छन्। आर्थिक विधेयक समेत सभाले स्वीकृत गरेको छ।
नगर सभामा वडा नम्वर ७ का अध्यक्ष यग्यप्रसाद न्यौपानेले आगामी आर्थिक वर्षका लागि १ अर्ब ३ करोड ६७ लाख १ सय रुपैयाँको कुल बजेट प्रस्तुत गरेका छन् ।
नगरपालिकाको कुल पुँजीगत खर्च ३० करोड २ लाख, चालु तर्फ २९ करोड ३५ लाख विनियोजन गरिएको छ। पुँजीगत रकममा वडाको लागि ६ करोड ३१ लाख २० हजार, समपुरकमा ३ करोड, नगर गौरवका योजना कार्यान्वयनका लागि ९ वटै वडामा ९ करोड ५० लाख र विषयगत शाखातर्फ २ करोड ३५ लाख विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षको लागि संघीय सशर्त अनुदान अन्तर्गत संघीय रकम चालु २९ करोड १५ लाख र पुँजीगत सशर्त बजेट तर्फ ५६ लाख, संघीय विशेष अनुदान १ करोड ८० लाख, सुदुरपश्चिम प्रदेस सरकारबाट समपुरक अनुदान ५२ लाख ८९ हजार, विशेष अनुदान ७६ लाख ५० हजार र सशर्त अनुदान १० करोड ७५ लाख विनियोजन गरिएको छ।
सभामा कार्यबाहक नगर प्रमुख दावी गर्दै सर्वोच्च अदालत पुगेका रामबहादुर नगार्जी भने अनुपस्थित रहे । नगार्जीले कार्यबाहक नगर प्रमुख दावी गर्दै सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी असार ८ गते तोकिएको भए पनि असार २२ गतेका लागि सरेको थियो । अदालतले दुवै पक्षलाई उपस्थित हुन अन्तरिम आदेश दिएको थियो ।
कार्यपालिकाका १० जना सदस्यले नगार्जीलाई कार्यवाहक नगर प्रमुखबाट हटाई बलिराम चौधरीलाई कार्यवाहक नगर प्रमुखमा चयन गरेपछि मुद्दा सर्वोच्चमा पुगेको थियो ।
१९औ नगर सभाको उद्घाटन समारोहमा टीकापुर नगरपालिकाका पुर्व नगर प्रमुख तपेन्द्र बहादुर रावलले शुभकामना मन्तव्य राखेका थिए ।








