टीकापुर, असार १७
कैलालीको एक विद्यालयबाट बेपत्ता भएकी बालिका खोलामा मृत अवस्थामा फेला परेकी छन् । लम्कीचुहा नगरपालिका वडा नं. २ को जनचेतना आधारभूत विद्यालयबाट बेपत्ता भएकी ६ वर्षीया बालिका मनिषा बिक बुधबार स्थानीय रोरा खोलाको किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले बिहान पौने ११ बजेतिर रोरा खोलाको किनारमा मनिषाको शव फेला परेको जानकारी दिए ।
उनका अनुसार लम्कीचुहा नगरपालिका वडा नं. ४ अम्मरपुरका विकास कामीकी छोरी मनिषा जनचेतना माध्यमिक विद्यालयमा शिशु कक्षामा अध्ययनरत थिइन् । बिहान ७ बजेतिर अभिभावकले विद्यालयमा छाडेका थिए । उनी विद्यालयबाटै हराएकी थिइन् ।
बालिका विद्यालयबाट हराएको र घर तथा आफन्तको सम्पर्कमा पनि नरहेको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक जयबहादुर चन्द नेतृत्वको टोली खोजी गरेको थियो । प्रहरी निरीक्षक कबिराज रोकायाको नेतृत्वमा थप प्रहरी टोली पनि खोजीमा खटिएको थियो ।
मंगलबार पानी परेका कारण स्थानीय नदी तथा खोलामा बाढी आएको थियो । दैनिक ११ बजे बालिकालाई लैजान उनका अभिभावक विद्यालयमै आउने गरेका थिए ।
मंगलबार भने विद्यार्थी न्यून भएको भन्दै १० बजेतिर बिदा गरिएको थियो । बालिका बिदा भएपछि एक्लै घरतर्फ हिँडेपछि खोला तर्ने क्रममा बगेको हुनसक्ने प्रहरीले जनाएको छ ।








