Hamro Patra
कालिकोट जाँदै गरेको हायस कर्णाली नदीमा

दैलेख, असार १८
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख. १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ७ स्थित साङ्गेतडा क्षेत्रमा कर्णाली राजमार्गबाट करिब चार सय मिटर तल कर्णाली नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासी उद्धार कार्यमा खटिएका छन् ।

नदीबाट एकजना वृद्धको सकुशल उद्धार गरिएको भए पनि उनको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको समयमा गाडीमा कति जना सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन सकेको छैन ।

यात्रुको संख्या बारेमा प्रहरीले खोजी जारी गरिरहेको छ । स्थानीयले फोर्स गाडी दुर्घटना भएको खबर गरेका थिए । सोही अनुसार प्रहरी चौकी पाल्तडा र दैलेखबाट ३५ जना प्रहरी परिचालन गरी उद्धार कार्य गरिरहेको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १८, २०८३  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update