टीकापुर, असार १९
विश्वमै दुर्लभ एवं नेपालमा संरक्षित जलप्राणी गङ्गेटिक प्रजातिको डल्फिन कैलालीका दक्षिणी नदीहरुमा देखा पर्न थालेका छन् । नदीमा जलस्तर बढेपछि बच्चा हुर्काउनका लागि आएका डल्फिन देखापर्न थालेका हुन् ।
यद्यपि यस वर्ष मनसुन ढिलो गरी सुरु भएकाले डल्फिन आउन पनि ढिलाइ नै भएको थियो । गत वर्ष जेठ मसान्तमै नेपालका नदीमा आइपुगेका डल्फिन यसवर्ष ढिलो गरेर आएको डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताए ।
उनका अनुसार गत मङ्गलबारदेखि टीकापुर नगरपालिका वडा नं. ७ र भजनी नगरपालिका वडा नं. ८ को सिमानामा रहेको मोहना नदी र पथरैयाको दोभानमा एक बच्चासहित तीन डल्फिन देखा परिरहेका छन् ।
यसैगरी पथरैया र काँढा नदीको दोभानमा दुई वटा वयस्क डल्फिन देखा परिरहेका छन् । केही दिन अगाडिसम्म काँढा नदीमा पानी सुकेको थियो । नदीमा पानीको सतह बढ्दै जाँदा बिस्तारै डल्फिनको संख्या थपिँदै जाने संरक्षणकर्मी ढुङ्गानाको भनाइ छ ।








