Hamro Patra
३० ग्राम खैरो हेरोइनसहित पाँच जना पक्राउः स्कारपियो नियन्त्रणमा

टीकापुर, असार १९
कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अवैध लागुऔषध खैरो हेरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. २ नयाँबस्तीबाट बिहीबार साँझ खैरो हेरोइनजस्तो देखिने ३० ग्राम ९३० मिलिग्राम धुलो पदार्थसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा वडा नं. २ का ४० वर्षीय लालबहादुर सुनार, ३१ वर्षीय हेमराज जोशी, वेदकोट नगरपालिका वडा नं. ७ दैजीका ३१ वर्षीय बिमल पाण्डे र कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ५ तारानगरका २५ वर्षीय अशोक पाण्डे रहेका छन् ।

लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोस्ट बाणीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बीएए १३५१ नम्बरको स्कारपियोसहित पक्राउ गरेको हो । प्रहरीले उक्त स्कारपियो समेत नियन्त्रणमा लिएको छ ।

यस्तै, कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. १ थकालीपुरबाट बिहीबार साँझ १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित २३ वर्षीय ललित राना क्षेत्री पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनको साथबाट उक्त पदार्थ बरामद गरेको जनाएको छ ।

दुबै घटनामा पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update