Hamro Patra
ट्रकको ठक्करबाट एकको मृत्युः फरार चालक सुर्खेतमा पक्राउ

टीकापुर, असार २०
कैलालीको चिसापानीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानी बजारमा शुक्रबार राति साढे ९ बजेतिर रुवी होटल अगाडि पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय एक पुरुषलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

उनलाई तत्काल इलाका प्रहरी कार्यालय चिसापानीकि प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) मीरा खड्काको कमाण्डको प्रहरी टोलीले उनको उद्धार गरेर टीकापुर अस्पताल लगेको थियो ।

टाउकोमा गम्भीर चोट लागेका घाइते पुरुषको उपचारका क्रममा राति अस्पतालमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृतकको नाम, थर र ठेगाना खुल्न सकेको छैन । शवलाई अहिले टीकापुर अस्पतालको शवगृहमा राखिएको छ ।

​दुर्घटनापछि फरार चालक र गाडी सुर्खेतबाट प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई राति १२ बजे भे१क २५९६ नम्बरको मिनी ट्रकसहित नियन्त्रणमा लिइएको थियो ।

सुर्खेतकै पञ्चपुरी नगरपालिका वडा नं. ११ ढुङ्गीबजारबाट सोही पालिकाको वडा नं. ४ चनालीका चालक ३१ वर्षीय सन्तोष सिजापति मगरलाई नियन्त्रणमा लिइएको हो । 

मिनी ट्रकलाई पञ्चपुरीकै तातोपानी प्रहरी पोष्टको नियन्त्रणमा राखिएको छ भने चालकलाई राति नै इलाका प्रहरी कार्यालय चिसापानी ल्याइएको छ।

प्रकाशित मिति: शनिबार, असार २०, २०८३  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update