टीकापुर, असार २२
कर्णाली नदीमा आज दुईवटा वटा शव फेला परेका छन् । कैलाली जिल्लाको महोन्याल गाउँपालिका र लम्कीचुहा नगरपालिका क्षेत्रमा दुईवटा शव भेटिएका हुन् ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रामप्रसाद घर्तीले अन्दाजी १७–१८ वर्षकी किशोरी र अन्दाजी ३०–३५ वर्षका पुरुषको शव फेला परेको जानकारी दिए । पुरुषको शव कैलालीको मोहान्याल गाउँपालिका वडा नं. ६, सुगरखाल सोल्टा नजिक भेटिएको हो ।
यस्तै, लम्कीचुहा नगरपालिका वडा नं. ३ गोरङ्गेमा किशोरीको शव भेटिएको हो । बिहीबार बिहान साढे ११ बजे सुर्खेतबाट कालिकोटका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. ७ स्थित कर्णाली राजमार्गको साङ्गेतडा क्षेत्रमा दुर्घटना भएको थियो ।
भेटिएकोमध्ये पुरुषको शव उक्त गाडीमा सवार यात्रुको भएको आशंका प्रहरीले गरेको थियो । तर, किशोरीको शवको भने पहिचान भएको छ । उक्त शव सुर्खेतकी स्नेहा सुनारको भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार केही दिनअघि भेरी नदीमा दाउरा संकलन गर्ने क्रममा उनी बगेर बेपत्ता भएकी थिइन् । आफन्तले उनको पहिचान गरिसकेका छन् ।
तर, मोहन्याल गाउँपालिका वडा नं. ६ सोल्टास्थित कर्णाली नदी किनारमा भेटिएको पुरुष शवको पहिचान खुल्न अझै बाँकी रहेको प्रहरीले जनाएको छ । हाल दुवै शवलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यही असार १८ गते सुर्खेतबाट कालिकोट जाँदै गरेको गाडी राजमार्गबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । गाडीमा सवारमध्ये कालिकोट पचालझरना गाउँपालिका वडा नं. ९ निवासी ५४ वर्षीय जेखे तिरुवा भीरमा अड्किएको अवस्थामा फेला परेका थिए । त्यस बाहेक गाडी र चार जना यात्रुको अवस्था अझै अज्ञात छ ।








