टीकापुर, असार २४
कैलालीको टीकापुर अस्पतालका प्रयोगशाला इञ्चार्जमाथि कुटपिट भएको छ । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको अस्पतालका प्रयोगशाला इञ्चार्ज उमेश बजगाईमाथि सहकर्मीबाटै कुटपिट भएको हो । मंगलबार फिजियोथेरापिष्ट अनिल तिवारीले प्रयोगशाला इञ्चार्ज बजगाईंमाथि अस्पताल प्रशासन कक्षमै कुटपिट गरेका हुन् ।
प्रशासनमा रहेका बेला मंगलबार दिउँसो २ बजे आफूमाथि तिवारीले कुटपिट गरेको बजगाईंले बताए । ‘म कामका लागि अस्पताल प्रशासनमा गएको थिएँ, एक्कासी आएर तिवारीले ममाथि कुटपिट गर्नुभयो’ बजगाईंले भने, ‘मैले अस्पताल प्रशासनलाई आवश्यक कारवाहीका लागि निवेदन दिएको छु ।’
बजगाईमाथि कुटपिट गरेको आरोप लागेका फिजियोथेरापिष्ट तिवारी अस्पतालमा भइरहेका अनिमितताबारे डाक्टर रेमसँग कुरा राख्दा बजगाईले गालीगलौज गरेपछि प्रतिक्रिया दिएको दाबी गरे । ‘प्रयोगशालामा भइरहेको अनियमितता बारे अस्पताल प्रशासनमा डाक्टर रेमसँग कुरा गर्दा मलाई एक्कासी गालीगलौज गरेपछि त्यो प्रतिक्रिया जनाएको हुँ ।’
टीकापुर अस्पताल प्रशासनले प्रयोगशाला प्रमुख बजगाईंले आफूमाथि कुटपिट गरेको निवेदन दिएपछि आवश्यक अनुसन्धानका लागि सिसिटीभी फुटेजसहित इलाका प्रहरी कार्यालय टीकापुरलाई पत्राचार गरिएको बताए ।
सिसिटीभी फुटेजमा प्रयोगशाला प्रमुख बजगाईलाई तिवारीले दौडिएर आएर आक्रमण गरेको देखिन्छ । आक्रमण लगत्तै, बजगाईले पनि तिवारीमाथि प्रतिकार गरेको भिडियोमा देखिन्छ ।








