टीकापुर, असार २८
कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार प्रति हेक्टर जमिनमा ३.२ मेट्रिकटनको दरले चैते धान उत्पादन भएको हो ।
जिल्लाको दक्षिणी भजनी क्षेत्रमा बढीजसो चैते धान खेती गर्ने गरिएको छ । वर्षामा बाढी, डुबान समस्या हुने क्षेत्रका किसानले चैते धान खेती गर्दै आएका छन् । यस वर्ष १८ हजार हेक्टर क्षेत्रफलमा किसानले चैते धान खेती गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टेक विष्टले जानकारी दिएका छन् ।
चैते धान खेती गरेका किसानले बर्खे धान रोपाइँसँगै चैते ध्यान पनि भित्र्याई सकेका छन् । कतिपय किसानले चैते धान भित्र्याएर सोही खेतमा वर्षेधान पनि रोपाइँ गरेको भजनी नगरपालिका वडा नं. ५, लालबोझीका कृषक खोजराम चौधरीले बताए ।
यसैबीच, कैलालीमा यस वर्षको रोपाइँ अन्तिम चरणमा पुगेको छ । जेठ अन्तिम साताबाट बोरिङ, स्यालोट्युवेलको भरमा रोपाइँ थालेका किसानले मनसुन पुगेपछि रोपाइँ सकाउन थालेका हुन । जिल्लामा रोपाइँ अब सम्पन्न हुने क्रममा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सूचना अधिकारी विष्टले यस वर्षको रोपाइँ अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘९५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छ । अब यही साताभित्र सबै सकिन्छ’ उनले भने । कैलालीमा ६३ हजार हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको छ ।








