टीकापुर, असार २८
टीकापुरमा केही दिन यता बेलाबेला विद्युत सेवा अवरुद्ध हुने क्रम बढेको छ । दुई दिन यता त घण्टौंसम्म विद्युत सेवा अवरुद्ध भएको छ । यो समस्या वर्षायाममा बढी हुने गर्छ ।
टीकापुरस्थित नेपाल विद्युत प्राधिकरण कार्यालयका प्रमुख आनन्द सापकोटा टीकापुरको समस्याले मात्रै विद्युत सेवा अवरुद्ध नभएको बताउँछन । उनका अनुसार लम्की र पहलवापुरस्थित सवस्टेशनमा आउने समस्याले समेत टीकापुरमा विद्युत अवरुद्ध हुने गरेको छ ।
उनले त्यसका अलावा कहिले काँही लम्कीदेखी टीकापुरको ३३ केभी विद्युत प्रशारण लाईन, ट्रान्समिटर र सवस्टेशनमा आउने समस्याले भने विद्युत सेवा अवरुद्ध हुने गरेको बताए । ‘सबै समस्या हाम्रोमा मात्रै हुँदैन’ उनले भने–‘अन्यत्रको समस्याले पनि हाम्रोमा विद्युत सेवा अवरुद्ध हुने गरेको छ ।’
उनले जतिसुकै समस्या आए पनि आफूहरु तत्काल समाधानमा तत्पर भैरहेको बताए । उनले प्राविधिक विषय भएकाले सबै समस्याको समाधान सोचे अनुसार तत्कालै सम्भव नहुने बताए । ‘विद्युत अवरुद्ध नहोस भन्ने चाहना हाम्रो पनि हुन्छ’ उनले भने–‘प्राविधिक विषय हो सबै कुरा हाम्रो हातमा पनि हुँदैन । हामी जतिसक्दो चाँडो समस्याको समाधान गरिरहेकै हुन्छौं ।’
लम्कीदेखी टीकापुरसम्मको ३३ केभी प्रशारण लाईन निर्माण भएको करिव ३५/४० वर्ष भैसक्यो । त्यतिबेलाको टीकापुरलाई मध्यनजर गरेर बिस्तार भएको यही प्रशारण लाईनले जोशीपुर क्षेत्र र छिमेकी जिल्ला बर्दियाको पश्चिमी भेगमा समेत विद्युत सेवा उपलब्ध गराईरहेको छ ।
तत्कालिन अवस्थामा टीकापुर नगरपालिकाको सिमित ठाउँमा रहेको विद्युत सेवा अहिले पूरै नगरपालिका भरी बिस्तार भैसकेको छ । आम मान्छेका तत्कालिन अवस्थाका आवश्यकता समेत बढेर गएका छन । केही सिमित घरमा भेटिन एसी, कुलर, फ्रिज जस्ता विद्युत खपत हुने सामाग्री अहिले अधिकांश घरमा भेटिन्छन । यसकारण पनि विद्युतको माग बढ्दै गएको छ ।
पूरानै आवश्यकतालाई मध्यनजर गरेर निर्माण भएका संरचनाले अहिलेको अवस्थालाई धान्न नसक्दा पनि बेलाबेलामा विद्युत सेवा अवरुद्ध हुने गरेको स्थानीय बताउँछन । स्थानीयले लम्कीदेखी टीकापुरसम्म निर्माणाधिन थप ३३ केभी विद्युत प्रशारण लाईनको काम छिटो सम्पन्न गर्न माग गरेका छन । सो काम नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयको निगरानीमा निर्माण भैरहेको छ ।
कार्यालय प्रमुख सापकोटाले २/३ महिनाभित्र सो काम निर्माण सम्पन्न हुने जानकारी दिए । उनले थप भैरहेको ३३ केभी विद्युत प्रशारण लाईनको काम दुईवटा छुट्टाछुट्टै सर्किटमा भैरहेको बताए । उनका अनुसार एउटा सर्किट लम्कीदेखी तोरैयापुर र अर्को लम्कीदेखी टीकापुरसम्म रहेको छ । उनले लम्कीदेखी तोरैयापुर सर्किट लगभग तयारी अवस्थामा रहेको जानकारी दिए ।
‘लम्कीदेखी तोरैयापुर सर्किट चार्ज भैसक्यो’ उनले भने–‘यसले टीकापुरको केही भार कम हुनेछ ।’ उनले सामान अभावका कारण काममा ढिलाई भैरहेको बताउँदै छिटो सक्नका लागि पहल गरिरहेको जानकारी दिए । उनले गर्मीको समय भएका कारण पनि काममा ढिलाई हुन गएको बताए । ‘काम गर्दा लाईन काट्नु पर्छ । गर्मीको समय छ । बेलाबेला लाईन काट्न पनि भएन’ उनले भने–‘यसले एकातिर सेवाग्राहीले दुःख पाउने र अर्कोतिर नकारात्मक सन्देश जाने डर रहन्छ ।’
बेलाबेलामा विद्युत सेवा अवरुद्ध हुने समस्याले सेवाग्राही मारमा परेका छन । एकातिर गर्मीको मौषमले आम मानिसहरु आजित भएका छन भने अर्कोतिर घरमा रहेका विद्युतीय उपकरण बिग्रने समस्या रहेको छ। सेवाग्राहीले छिटो भन्दा छिटो समस्या समाधान हुनुपर्ने बताउने गरेका छन । उनीहरु माग अनुसारको विद्युत सेवा उपलब्ध गरेर विद्युत सेवा सहज बनाउनु पर्ने बताउँछन ।








