Hamro Patra
सुदूरपश्चिमको १२ अर्ब ५९ करोड बजेट खर्च हुन सकेनः असारमै २७ प्रतिशत खर्च

टीकापुर, असार २८
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजित बजेटको करिब ३८ प्रतिशत रकम खर्च गर्न सकेन । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल ३३ अर्ब ४३ करोड २५ लाख ३३ हजार ४ सय रुपैयाँ बजेटमध्ये २० अर्ब ८३ करोड ९२ लाख ५१ हजार रुपैयाँ मात्र खर्च भएको हो ।

कार्यालयका सूचना अधिकारी बलदेव कपाडीका अनुसार प्रदेश सरकारले समग्रमा ६२.३३ प्रतिशत बजेट खर्च गरेको छ । वार्षिक बजेट अन्तर्गत १२ अर्ब ५९ करोड ३२ लाख रुपैयाँ खर्च हुन नसकेको हो । चालूतर्फ ६८.२२ प्रतिशत र पुँजीगततर्फ ५८.३३ प्रतिशत बजेट कार्यान्वयन भएको छ । प्रदेश सरकारको हालसम्मकै कमजोर खर्चमध्ये यो एक हो ।

सरकारले आर्थिक वर्षको अन्तिम महिना असारमा ठुलो रकम खर्च गरेको देखिएको छ । असार महिनामा मात्रै ९ अर्ब ६ करोड ३० लाख रुपैयाँ खर्च भएको हो, जुन कुल वार्षिक खर्चको २७.१३ प्रतिशत हो । पुँजीगत खर्चतर्फ मात्र हेर्दा कुल खर्चको ३०.३३ प्रतिशत असारमै गरिएको तथ्यांकले देखाउँछ ।

जेठ मसान्तसम्म प्रदेश सरकारको कुल खर्च ११ अर्ब ७७ करोड ६१ लाख रुपैयाँ थियो । त्यतिबेलासम्म पुँजीगत खर्च ५ अर्ब ५५ करोड ५० लाख रुपैयाँ पुगेको थियो ।

पुँजीगततर्फ सरकारले १९ अर्ब ८२ करोड ९६ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा ११ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ मात्र खर्च भएको छ । चालूतर्फ १३ अर्ब ५९ करोड २८ लाख रुपैयाँ बजेटमध्ये ९ अर्ब २७ करोड २४ लाख रुपैयाँ खर्च भएको छ ।

मन्त्रालयगत रूपमा हेर्दा सबैभन्दा धेरै बजेट पाएको भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि अपेक्षित खर्च गर्न सकेन । १५ अर्ब २८ करोड ४२ लाख रुपैयाँ बजेट पाएको मन्त्रालयले करिब ६० प्रतिशतमात्रै खर्च गर्न सफल भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३ अर्ब २६ करोड रुपैयाँ बजेटमध्ये १ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ खर्च गर्न सकेन । मन्त्रालयको कुल खर्च ५८.६९ प्रतिशतमा सीमित रह्यो ।

सामाजिक विकास मन्त्रालयले ६ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ बजेटमध्ये १ अर्ब ८८ करोड ४२ लाख रुपैयाँ खर्च गर्न सकेन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ अर्ब २२ करोड ९ लाख रुपैयाँमध्ये ६३ करोड ३२ लाख ९५ हजार रुपैयाँ खर्च गर्न सकेन । यी मन्त्रालयहरूको खर्च क्रमशः ७१.५५ प्रतिशत र ७१.४९ प्रतिशत छ ।

सात मन्त्रालय, प्रदेश सभा र विभिन्न आयोगमध्ये आन्तरिक मामिला तथा कानुन मन्त्रालयको खर्च सबैभन्दा कमजोर देखिएको छ । ३४ करोड ६ लाख रुपैयाँ बजेट पाएको मन्त्रालयले २३ करोड ५८ लाख ९६ हजार रुपैयाँ खर्च गर्न सकेन ।

यस्तै, प्रदेश सरकारले स्थानीय तहका लागि छुट्ट्याएको ३ अर्ब ६३ करोड ९५ लाख रुपैयाँमध्ये ८६ करोड ८४ लाख ४० हजार रुपैयाँ खर्च हुन सकेन ।

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update