टीकापुर, असार ३१
सत्ता साझेदार दल नेकपा एमालेसँगको बजेट विवाद उत्कर्षमा पुगेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् ।
बर्खास्त हुनेमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउँद रहेका छन् ।
मुख्यमन्त्री शाह उच्चस्तरमा छलफल गरेर बुधबार मात्रै काठमाडौंबाट धनगढी फर्किएका थिए । तर बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उनले एमालेका मन्त्रीहरूलाई पदमुक्त गर्ने निर्णय गरेको उच्च स्रोतले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई लिएर केही दिनदेखि नेपाली कांग्रेस र एमालेबीच तीव्र विवाद चलिरहेको छ । बजेट पारित गर्न पटक–पटक छलफल भए पनि सहमति जुट्न सकेको थिएन । मुख्यमन्त्री शाहले मन्त्रीहरूलाई बर्खास्त गरेको औपचारिक पत्र भने सार्वजनिक हुन बाँकी रहेको छ ।








