Hamro Patra
टीकापुर अस्पताल घटनाः व्यवस्थापन समितिले बेवास्ता गरेको आफन्तको आरोपः तिवारी धरौटीमा रिहा

टीकापुर, साउन २
टीकापुर अस्पतालका प्रयोगशाला इञ्चार्जमाथि उमेशप्रसाद बजगाईंका आफन्तले अस्पताल व्यवस्थापन समितिले घटनाप्रति वेवास्ता गरेको आरोप लगाएका छन् । 

टीकापुर अस्पताल परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा बजगाईंको छोरा ईश्वर बजगाईंले व्यवस्थापन समितिकै कार्यकक्ष अघि भएको घटनामा बेवास्ता गरेको आरोप लगाएका हुन् । 

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा ‘अस्पताल व्यवस्थापन समितिका पदाधिकारी र जिम्मेवार कर्मचारीहरूका अगाडि कार्यालय समयमा भएको उक्त घटनाको तत्काल छानविन र दोषीमाथि कारवाही हुनुपर्नेमा व्यवस्थापन समितिले बेवास्ता गरेको र घटना घटेको २४ घण्टा बित्दा समेत पीडितसँग कुनै किसिमको छलफल, सुनुवाई र सान्त्वना समेत नदिएको’ उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ ‘पिडितलाई न्याय र पिडकलाई कानुनी कारवाही गरिपाउँ भनी दिएको निवेदन, किटानी जाहेरी समेतको तत्काल सुनुवाई नगरी आक्रमणको घटनालाई ढाकछोप गर्ने गरी पिडकलाई संरक्षण गरी पिडित पक्षको वेवास्ता गर्ने कार्य गरेको कुरा घटनाको दिनदेखि आजसम्मको व्यवहार र छानविन उप–समितिको प्रतिवेदनसहितको प्रेस विज्ञप्तिले समेत प्रष्ट पारेको छ ।’

विज्ञप्तिमा ‘पिडितको अहिले पनि निजले प्रहार गरेको चोटका कारण आँखामा गम्भीर समस्या आई चिकित्सकको सल्लाह अनुसार गेटा आँखा अस्पतालमा श्रावण ३ गते अप्रेसन हुने र उपचारमा रहेको’ उल्लेख छ ।

ड्युटीमा खटी नियमित कामगरी रहेको कर्मचारी माथि अर्को कर्मचारीले निर्घात कुटपिट गर्दा समेत उचित न्याय नपाउने परिस्थिति अस्पताल व्यवस्थापन समितिको छानविन तथा हालसम्मको व्यवहारले पुष्टी गरेको हँुदा आफूहरु बाध्य भएर पत्रकार सम्मेलन गर्नु परेको ईश्वर बजगाईंले बताए । 

पीडित बजगाईंका दाजु बासुदेव बजगाईंले अस्पतालभित्रै सहकर्मीबाट कुटपिट हुँदा समेत व्यवस्थापन समिति मौन रहनु र छानविन समितिको प्रतिवेदन अधूरो हुनुले घटना ढाकछोप गर्न खोजिएको देखिने बताए । बजगाईंका अनुसार कुटपिटबाट ल्याब इञ्चार्ज बजगाईंको कान समेत गम्भीर समस्या देखिएको छ । 

यता, असार २३ गते अस्पताल प्रशासनमै भएको कुटपिटको घटनामा संलग्न फिजियोथेरापिष्ट अनिल तिवारी धरौटीमा रिहा भएका छन् । 

जिल्ला प्रशासन कार्यालय कैलालीले उनलाई २० हजार रुपैयाँ धरौटीमा शुक्रवार रिहा गरेको हो । प्रयोगशाला प्रमुख बजगाईंले तिवारीमाथि इलाका प्रहरी कार्यालयमा अभद्र व्यवहार सम्बन्धी मुद्दामा जाहेरी दिएका थिए । असार २४ गते तिवारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन २, २०८३  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update