टीकापुर, साउन ४
कैलालीको धनगढीबाट सञ्चालन भइरहेको अभौतिक मुद्रा (भर्चुअल करेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नं. ४ बसपार्क क्षेत्रमा रहेको एउटा फ्ल्याट भाडामा लिएर केही व्यक्तिले युवायुवतीलाई परिचालन गर्दै सफ्टवेयरमार्फत अभौतिक मुद्रा कारोबार गरिरहेको सूचनाका आधारमा शुक्रबार प्रहरी टोलीले छापा मारेको थियो ।
प्रहरीले खानतलासी गर्दा त्यहाँबाट अभौतिक मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा नौ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाविरुद्ध अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका बनबेहडाका ३४ वर्षीय प्रेमबहादुर साउँद, उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ का ३४ वर्षीय दिपिन मगर, भारतको दिल्लीका ३६ वर्षीय रवि कुमार सूर्यवंशी, भारतको हरियाणाका ३७ वर्षीय दिपककुमार जाट, चितवनको भरतपुर महानगरपालिका वडा नं. १ रामनगरका ३७ वर्षीय जितेन्द्र कट्टेल, ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ८ शम्भुचौरका ४३ वर्षीय राजकुमार मोक्तान रहेका छन् ।
त्यस्तै प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ नीलगिरीका ४५ वर्षीय राजन चुडाल, झापाको दमक नगरपालिका वडा नं. १ का ४६ वर्षीय हरिप्रसाद चापागाईं तथा धनगढी उपमहानगरपालिका वडा नं. ३ भन्सारका ३९ वर्षीय ज्ञानेन्द्र ढकाल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले कम्प्युटर तथा सफ्टवेयर प्रयोग गरेर भर्चुअल करेन्सीको कारोबार सञ्चालन गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट बरामद भएका विद्युतीय उपकरण तथा अन्य सामग्रीको समेत परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।
नेपाल राष्ट्र बैंक ऐन तथा प्रचलित कानुनअनुसार नेपालमा बिटक्वाइन, इथेरियमलगायतका अभौतिक मुद्रा (भर्चुअल करेन्सी) को खरिद–बिक्री, कारोबार तथा त्यससँग सम्बन्धित गतिविधि गैरकानुनी मानिन्छ ।








