Hamro Patra
दुई डिभिजन वनमा अख्तियारको एकसाथ छापा

टीकापुर, साउन ६
कैलालीका दुई वटा डिभिजन वन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकसाथ छापा मारेको छ । अख्तियारको कञ्चनपुर कार्यालयको टोलीले डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरमा एकै समयमा छापा मार्दै आवश्यक कागजात नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

अख्तियार कार्यालयका सूचना अधिकारी चेतराज भट्टले दिएको जानकारी अनुसार कैलालीका विभिन्न ११ वटा सामुदायिक वनबाट अवैध रूपमा खयरका हरिया रुख कटान गरी काठ बिक्री गर्न अनुमति दिएको उजुरीका आधारमा दुबै कार्यालयमा छापा मारिएको हो ।

भट्टका अनुसार उजुरीमा धनगढी अन्तर्गतको बाह्रवन साझेदारी वन उपभोक्ता समितिबाट १ लाख ८६ हजार क्युफिट तथा केदारेश्वर सामुदायिक वन उपभोक्ता समितिबाट ३६ हजार क्युफिट गरी कुल २ लाख २२ हजार क्युफिट काठ बिक्री गर्ने तयारी गरिएको उल्लेख छ ।

त्यस्तै, डिभिजन वन कार्यालय पहलमानपुरअन्तर्गत छत्युन सामुदायिक वनबाट १८ हजार, मोहन्यालबाट १२ हजार, जगतपुरबाट ७ हजार, साडेपानीबाट ७ हजार, मैनापोखरीबाट २३ हजार, शिवशक्तिबाट ८७ हजार, गतिशीलबाट १२ हजार, जनताबाट १८ हजार र घोडाघोडीबाट १९ हजार क्युफिट गरी कुल १ लाख २३ हजार क्युफिट काठ बिक्री गर्न अनुमति दिइएको भन्दै उजुरी परेको थियो ।

उजुरीमा कैलालीका ११ वटा सामुदायिक वनबाट जम्मा ३ लाख ४५ हजार क्युफिट काठ अवैध तरिकाले बिक्री–वितरण गर्न अनुमति दिइएको आरोप लगाइएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ६, २०८३  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update