टीकापुर, साउन ६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले टीकापुर विमानस्थल सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणको अध्ययनका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने बताएका छन् ।
मन्त्री पौडेलले मङ्गलबार टीकापुरका धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्ने क्रममा टीकापुर विमानस्थल, टीकापुर पार्क र पद्मप्रकाशेश्वर महादेव मन्दिरको निरीक्षण गरेका हुन् ।
एक दशकसम्म हवाई सेवा सञ्चालन भएको तथा दुई वर्षअघि पनि करिब छ महिना सेवा सञ्चालनमा आएको टीकापुर विमानस्थल विस्तार वा स्थानान्तरण गरेर भए पनि पुनः सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।
मन्त्री पौडेलले स्थानीयको माग र सभामुख डोलप्रसाद अर्यालको निर्देशनअनुसार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसहित विमानस्थलको अवलोकन गर्न आएको बताए ।
‘देशका धेरै विमानस्थल सडक विस्तारसँगै बन्द भएका छन्, अहिले स्थलगत अवलोकनका लागि आएको हुँ’ उनले भने ‘टीकापुर विमानस्थल सञ्चालनको सम्भावना रहेसम्म नागरिक उड्डयन प्राधिकरणले योजना बनाएर काम अघि बढाउने छ ।’
विस्तार वा स्थानान्तरणको माग
इञ्जिनियर रविन्द्र विष्टले विमानस्थल विस्तार गर्नुपर्ने वा पाँच वर्षअघि विमानस्थल र खेलकुदको जग्गा सट्टापट्टा गरी विमानस्थल निर्माण गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकुद मन्त्रालयले गरेको तयारीलाई मूर्त रूप दिनुपर्ने बताए ।
टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष दीपेन्द्र रावलले टीकापुरको सम्भावना र स्थानीयको चाहनाअनुसार विमानस्थल सञ्चालनमा आउनुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव गणेशविक्रम शाहीले हरेक पटक सरकार परिवर्तन हुँदा पर्यटनमन्त्रीको टीकापुर भ्रमण हुने तर समस्या समाधान नहुने अवस्थाले नागरिकमा निराशा पैदा भएको बताए ।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले पर्यटन प्रवद्र्धनका लागि आवश्यक प्रकृति, संस्कृति र कृषिको राम्रो संयोजन भएको क्षेत्र भएकाले देशका अन्य भागसँग जोड्न हवाई सेवाको आवश्यकता रहेको बताए ।
कैलाली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य कोमल ज्ञवालीले हवाई सेवा सञ्चालन भए टीकापुर पार्क, डल्फिन क्षेत्र, घोडाघोडी ताल र निर्माणाधीन राजकाँडा केवलकारलगायत पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।
कैलाली क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य केपी खनालले टीकापुर विमानस्थल सञ्चालनमा आए सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लाका विमानस्थलसमेत सञ्चालनमा ल्याउन सहज हुने बताए । उनले भारतसँगको नजिकको दूरीका कारण मानसरोवर यात्रु तथा माउन्टेन फ्लाइटका लागि समेत सम्भावना रहेको उल्लेख गरे ।
पार्क र मन्दिरको विकास माग
टीकापुर पार्कको अवलोकनका क्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले पार्कको ऐतिहासिक, भौगोलिक र प्राकृतिक महत्व रहेको भन्दै नगरपालिकाले तयार पारेको १४ करोड रुपैयाँको विस्तृत परियोजना प्रस्ताव कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे ।
पद्मप्रकाशेश्वर महादेव मन्दिरका अध्यक्ष विदुरलाल कायस्थले मन्दिरको जीर्णोद्धार, धार्मिक क्षेत्र घोषणा, गुठी संस्थानबाट प्राप्त हुँदै आएको पूजा खर्च निरन्तरता तथा पुरातात्विक महत्वको मन्दिर भएकाले तत्काल सुरक्षाको व्यवस्था गर्न माग गरे ।
जवाफमा मन्त्री पौडेलले पुरातत्व विभागसँग समन्वय गरी जीर्णोद्धारलगायत आवश्यक काम अघि बढाउने बताए । उनले मन्दिर बिनाका मूर्तिका लागि मन्दिर निर्माण गरी स्थापना गर्ने व्यवस्था मिलाइने जानकारी दिए । मन्त्री पौडेलले मन्दिरमा पूजा आरतीसमेत गरेका थिए ।
भारतको नैमिषारण्य–पद्मप्रकाशेश्वर मन्दिर–कैलास मानसरोवरबीच पौराणिक सम्बन्ध रहेको र भारत–नेपाल–चीन जोड्ने छोटो मार्गका रूपमा सेती राजमार्ग निर्माणाधीन रहेकाले यस क्षेत्रको पर्यटन सम्भावना बढ्ने अपेक्षा गरिएको छ ।
टीकापुरबाट विगतमा अछाम, जुम्ला र काठमाडौँसम्म नियमित हवाई सेवा सञ्चालन हुने गरेको थियो । तत्कालीन शाही नेपाल वायुसेवा निगमका जहाज संख्या घट्दै जानु र देशमा द्वन्द्व बढेपछि हवाई सेवा प्रभावित हुँदै बन्द भएको थियो । २०८० मङ्सिरदेखि जेठसम्म तारा एयर र यती एयरलाइन्सले टीकापुर–नेपालगञ्ज–काठमाडौँ कनेक्टिङ फ्लाइटसमेत सञ्चालन गरेका थिए ।
गोरखापत्रबाट








