Hamro Patra
७ बुँदे मागसहित धनगढीमा डा. गोविन्द केसीको अनसन

टीकापुर, साउन ७
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै डा. गोविन्द केसीले बिहीबारदेखि धनगढीमा पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । उनले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट सत्याग्रह सुरु गर्न लागेका हुन् ।

स्वास्थ्य क्षेत्रलाई सरकारले नै निजीकरणतर्फ लैजान खोजेको आरोप लगाउँदै केसीले त्यसलाई रोक्न आफू सत्याग्रहमा बस्न लागेको बताएका छन् । उनले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति अन्त्य र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्न ७ बुँदे माग अघि सारेका छन् ।

केसीले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा निजी मेडिकल संस्थामा लगानी भएका व्यक्तिलाई नियुक्त गरिएको भन्दै आपत्ति जनाएका छन् । 

उनले विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको नियुक्ति खारेज गरी स्वार्थ नबाझिने तथा चिकित्सा क्षेत्र बुझेका अनुभवी व्यक्तिलाई जिम्मेवारी दिन माग गरेका छन् ।

सरकारले असार ३१ गते शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा. भीमबहादुर चन्दलाई नियुक्त गरेको थियो ।

केसीले चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती गर्ने तथा आवश्यक मापदण्ड र पूर्वाधारबिना निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन गर्नुपर्ने उनको अर्को माग छ ।

उनले विगतका सरकारसँग भएका लिखित सहमति कार्यान्वयन गर्नुपर्ने, सीमावर्ती क्षेत्रका नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नुपर्ने तथा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र हिंसाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने मागसमेत राखेका छन् ।

केसीले विकट क्षेत्रका नागरिकको स्वास्थ्य सेवा अधिकार कटौती गर्ने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध खबरदारी आवश्यक रहेको बताए । यसअघि दार्चुलाको व्यास क्षेत्रबाट सत्याग्रह सुरु गर्ने तयारी गरेका केसी भारतीय सुरक्षा निकायबाट लामो समयका लागि प्रवेश अनुमति नपाएपछि धनगढी फर्किएका हुन् । 

स्वास्थ्य अवस्थाका कारण नेपाली भूभाग हुँदै व्यास जान कठिन भएको र भारतीय बाटो प्रयोगका लागि अनुमति नपाएपछि आफू धनगढी फर्कन बाध्य भएको उनले बताए । दार्चुलामा केही दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी स्थानीय नागरिकको स्वास्थ्य परीक्षण गरेपछि आफू सत्याग्रहका लागि धनगढी आएको केसीको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०८३  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update