Hamro Patra
१०८ कुण्डीय गोपाल अष्टोत्तरसत विराट महायज्ञः संयोजक र महासचिव चयन

टीकापुर, साउन ९
कैलालीको टीकापुरमा १०८ कुण्डीय गोपाल अष्टोत्तरसत विराट महायज्ञ आयोजना हुने भएको छ । ईश्वरप्रेमी सेवा आश्रम टीकापुरका पिठाधिस श्री १००८ महामण्डलेश्वर स्वामी ईश्वर चैतन्य जी महाराजको संकल्पमा आगामी मंसिर १२ गतेदेखि २२ गतेसम्म महायज्ञ सञ्चालन हुने भएको हो ।

महायज्ञमा १ सय ८ वटा हवन कुण्डमा एकसाथ वैदिक विधिअनुसार हवन, गोपाल सहस्रनामबाट आहुति, चार वेद तथा १८ पुराणको पारायण गरिने चैतन्य जी महाराजले बताए । नेपालमै पहिलो पटक आयोजना हुन लागेको १०८ कुण्डिय गोपाल महायज्ञमा दैलेखको नाभिस्थानबाट पवित्र अग्नीबाट शुभारम्भ गरिने कार्यक्रम रहेको छ । 

राष्ट्र शान्ति, धर्म संरक्षण, अर्थ समृद्धि, कामना सिद्धि तथा पितृ उद्दारका उद्देश्यले आयोजना हुन लागेको महायज्ञले सनातन वैदिक संस्कृतिको संरक्षण र धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 

ईश्वर चैतन्यजी महाराजका अनुसार महायज्ञमा नेपाल तथा भारतका चर्चित धार्मिक गुरु, सन्त, महात्माहरुको उपस्थिति रहनेछ ।

महायज्ञको आयोजनाका लागि आज आयोजित सर्वपक्षीय भेलाले महायज्ञको संयोजकमा ईश्वर चैतन्य महाराजलाई चयन गरेको छ भने महासचिवमा समाजसेवी भैरव रावललाई चयन गरेको छ । 

महायज्ञका लागि आवश्यक पर्ने विभिन्न समिति, उपसमितिहरु गठन तथा विभिन्न छलफलका कार्यक्रम निरन्तर रुपमा अगाडि बढाइने सेवा आश्रमका महासचिव पुष्पराज बमले जानकारी दिए । 

यसअघि टीकापुरमा १०८ पितृउद्दार महायज्ञ, सप्ताहव्यापी ज्ञान महायज्ञ आयोजना गरिसकेको आश्रमले १०८ कुण्डिय महायज्ञ आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति: शनिबार, साउन ९, २०८३  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update