टीकापुर, साउन १२
महाकाली नदीको टापुमा फसेका व्यक्तिको सकुशल उद्दार गरिएको छ ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. ४ मालिका टोलस्थित महाकाली नदीको बीचमा रहेको टापुमा फसेका व्यक्तिको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सकुशल उद्दार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ४५ वर्षीय रामबहादुर सिंह महाकाली नदीको बीच टापुमा फसेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १० जनाको टोली उद्दार सामग्रीसहित परिचालन गरिएको थियो ।
त्यसैगरी सशस्त्र प्रहरी बलको गुल्म देविस्थानबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा १० जनाको टोली पनि घटनास्थलमा पुगेको थियो । संयुक्त प्रयासबाट सिंहलाई सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।








