Hamro Patra
दश ग्राम लागुऔषधसहित दुई जना पक्राउ

टीकापुर, साउन १३
कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको गौरीगंगा नगरपालिकाबाट १० ग्राम ८०० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलवार दिउँसो गौरीगंगा नगरपालिका वडा नं. ४ बझाङ्गी टोलस्थित २५ वर्षीय सुरेन्द्रबहादुर धामीको घरमा खानतलासी गर्दा लागुऔषध बरामद गरेको हो ।

प्रहरीले घरको सुत्ने कोठामा रहेको बेडमुनि लुकाएर राखिएको १० ग्राम ८०० मिलिग्राम लागुऔषध फेला पारेको जनाएको छ । सो क्रममा गौरीगंगा नगरपालिका वडा नं. १ लठैयाका २१ वर्षीय सन्तोष रानामगर बेडमा फेला परेका थिए ।

खानतलासीका क्रममा प्रहरीले ३७ हजार १५० रुपैयाँ नगद पनि बरामद गरेको जनाएको छ । बरामद लागुऔषध र नगदसहित धामी र रानामगरलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०८३  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update