सुर्खेत, साउन १३
सुर्खेतबाट अछाम जान लागेको फोर्स गाडी दैलेखमा दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सुप्र ०१–००१ ख ३०७२ नम्बरको फोर्स गाडी दैलेखको गुराँस गाउँपालिका वडा नं. १ स्थित मैनेखोलामा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बुधवार बिहान भएको दुर्घटनामा गाडी सडकबाट करिब ३०० मिटर तल खसेको थियो । गाडीमा चालकसहित ६ जना सवार रहेकामा दुई जना सकुशल रहेका छन् भने अन्य चार जना घाइते भएका छन् ।
घाइतेमध्ये अछामको कमलबजार नगरपालिका वडा नं. ६ हात्तीबाजका चक्र शाही र सुमन शाहीको पहिचान खुलेको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्दार गरी थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १३, २०८३ १३:११
प्रतिक्रिया दिनुहोस्








