टीकापुर, साउन १४
कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।
केरा उत्पादक संघ कैलाली र केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरद्वारा आज धनगढीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा केरा उत्पादक किसानहरुले प्रभावकारी बजार अनुगमन गर्न माग गरेका छन् ।
ती संस्थाका प्रतिनिधिले हाल बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन ६० देखि ६५ रुपैयाँसम्ममा बिक्री भइरहेको भए पनि उपभोक्ताले बजारमा सोही केराका लागि अत्यधिक मूल्य तिर्न बाध्य भएकाले नियमनका लागि आग्रह गरेका हुन् । संघीय सरकारले भारतबाट केराको बिरुवा तथा फल आयातमा रोक लगाएकोमा संघले धन्यवाद दिँदै अब मूल्यवृद्धि र सम्भावित कालोबजारी नियन्त्रणमा ध्यान दिन जोड दिएको छ ।
‘सरकारको निर्णयले केरा उत्पादन, किसानको हित र राष्ट्रिय कृषि सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास छ । अब बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि रोक्न सम्बन्धित सरकारी निकायलाई प्रभावकारी बजार अनुगमन, कालोबजारी, कृत्रिम अभाव र अनुचित मूल्यवृद्धि नियन्त्रण गरेर किसान र उपभोक्ता दुबैको हित सुरक्षित हुने गरी बजार व्यवस्थापन गर्न आग्रह छ’ पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ।
सङ्घले कैलाली र कञ्चनपुरमा बगानबाट बिक्री हुने काँचो केराको सिफारिस मूल्यसमेत सार्वजनिक गरेको छ । त्यसअनुसार भदौदेखि असोज मसान्तसम्म प्रतिदर्जन ५५ देखि ६५ रुपैयाँ, कात्तिकदेखि मङ्सिर मसान्तसम्म ४५ देखि ५० रुपैयाँ तथा पौषदेखि माघ मसान्तसम्म ३० देखि ३५ रुपैयाँ निर्धारण गरिएको छ । फागुनदेखि साउनसम्मको मूल्य भने उत्पादन, बजार अवस्था र माग–आपूर्तिको मूल्याङ्कनपछि आगामी संयुक्त बैठकबाट तय गरिने जनाइएको छ ।
संघ कैलालीका अध्यक्ष दीपेन्द्र थारुले सम्पूर्ण किसान, व्यापारी तथा सरोकार भएकाहरुलाई पनि निर्धारण गरिएको बगान बिक्री मूल्य कार्यान्वयनमा सहयोगका लागि आग्रह गरे ।
कृषि गणना २०६८/६९ अनुसार सुदूरपश्चिम प्रदेशमा करिब दुई हजार चार हेक्टरमा केराखेती हुँदै आएको छ भने वार्षिक करिब ७२ हजार ४४९ मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क कैलालीमा करिब एक हजार ८५० हेक्टर र कञ्चनपुरमा करिब ६१० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको सङ्घ कञ्चनपुरका अध्यक्ष सुरेन्द्रकुमार चौधरीले बताए ।






