टीकापुर, साउन १४
टीकापुर उद्योग वाणिज्य संघले गत पौष २९ गतेदेखि माघ ११ गतेसम्म सम्पन्न गरेको टीकापुर महोत्सव २०८२ को आयव्यय सार्वजनिक गरेको छ ।
संघले आज पत्रकार सम्मेलनमार्फत् महोत्सवको आयव्यय विवरण सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा वितरण गरिएको विवरण अनुसार संघले १ करोड २५ लाख १६ हजार ९२ रुपैयाँ आम्दानी गरेको छ ।
संघले टिकट बिक्री, प्रायोजक, बाल उद्यान, परिसर जस्ता शीर्षकबाट सो रकम आम्दानी गरेको हो । संघले टिकट बिक्रीबाट ७१ लाख १० हजार ८२० रुपैयाँ संकलन गरेको छ भने स्टल बिक्रीबाट १७ लाख ३९ हजार ५ शय रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै आयोजकबाट ६ लाख १४ हजार ३८७, परिसरबाट ५ लाख १ हजार, बाल उद्यानबाट ४ लाख ५० हजार, ब्यानरबाट ३ लाख ७८ हजार १५५, प्रायोजकबाट ३ लाख ७७ हजार ५ शय, सिजनल टिकट बिक्रीबाट ३ लाख ४० हजार रुपैयाँ आम्दानी गरेको छ ।
त्यस्तै टाइटल प्रायोजकबाट १ लाख ५० हजार, मुख्य प्रायोजकबाट १ लाख ५० हजार, सहप्रायोजकबाट १ लाख ८५ हजार ८५०, प्रबद्र्धकबाट १ लाख ५० हजार, सहयोगीबाट २ लाख ५३ हजार ८९७, पार्किङबाट ५० हजार, अफिसियल बैंकबाट ४३ हजार ३५०, नृत्य निवेदनबाट १९ हजार रुपैयाँ आम्दानी गरेको छ ।
विवरणमा संघले २६ लाख १६ हजार ५३ रुपैयाँ बैंक मौज्दात गरेको छ भने खर्चतर्फ कलाकार पारिश्रमिकमा ३२ लाख ९५ हजार ५ शय र मसलन्द छपाईमा १३ लाख ७९ हजार ६७९ रुपैयाँ खर्च गरेको छ । त्यस्तै भोजन अतिथि शीर्षकमा १३ लाख ४८ हजार ७१ रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ ।
महोत्सवबाट २ लाख २६ हजार रुपैयाँ उठ्न बाँकी रहेको बताउँदै संघका अध्यक्ष सन्तोष खड्काले रकम उठाउन ढिलाई भएका कारण महोत्सवको आयव्यय सार्वजनिक गर्न ढिलाई भएको बताए ।
‘शुरुमै सार्वजनिक गर्दा धेरै रकम उठ्न बाँकी देखिने हुनाले हामीले ढिलो नै सार्वजनिक गरेका हौं’ अध्यक्ष खड्काले भने ‘धेरै ताकेता गर्दा समेत केही रकम उठ्न बाँकी रहेको छ ।’






