टीकापुर, साउन १४
नेपाल जेसिजको आयोजना तथा टीकापुर जेसीजको आतिथ्यतामा आजदेखि कैलालीको टीकापुरमा प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ ।
तालिमको एक कार्यक्रमका बिच उद्घाटन गर्दै कैलाली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले तालिम जीवनलाई प्रभावकारी रुपमा समाजमा रुपान्तरण गर्न तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै युवा नै देशको भविष्यसँग जोडिएको प्रमुख जनशक्ति भएको बताइन् ।
जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले व्यक्तिमा भएको क्षमतालाई समाजसँग जोड्नका लागि तालिम फलदायी बन्ने विश्वास गरे । एकताको संकल्प, रुपान्तरणको यात्रालाई जेसीजले निरन्तर जारी राखेको कार्कीले बताएका छन् । उनले बितेको दिनलाई समिक्षा गर्दै आगामी दिनलाई योजनाबद्ध बनाएर समाजका लागि लाग्न सबै शाखा अध्यक्षहरुलाई आग्रह गरेका छन् ।
तालिमका प्रमुख प्रशिक्षक नेपाल जेसिजका पूर्व अध्यक्ष विकल शेरचनले जेसीज व्यक्तित्व निर्माणको प्रमुख पाठशाला भएको उल्लेख गर्दै प्रशिक्षक प्रशिक्षण तालीमले दक्ष प्रशिक्षक उत्पादन गर्नुपर्ने बताए ।
कार्यक्रममा टीकापुर जेसिजका पूर्वअध्यक्ष नवराज रावल, लम्की जेसिजका पूर्वअध्यक्ष रामबहादुर बोगटी, राष्ट्रिय उपाध्यक्ष सन्दीप भुसाल, कार्यकारिणी उपाध्यक्ष नवराज उपाध्याय लगायतले शुभकामना दिएका थिए ।
टीकापुर जेसीजका निवर्तमान अध्यक्ष भरत भण्डारीले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा स्वागत टीकापुर जेसीज वर्ष २०२६ का अध्यक्ष कमल राज सुवेदीले गरेका थिए । तालिम साउन १७ गतेसम्म सञ्चालन हुनेछ ।






