Hamro Patra
प्रहरीद्धारा भरुवा बन्दुक बरामद

महेन्द्रनगर, साउन १५ 
कञ्चनपुरको भीमदत्त नगरपालिकामा पुलमुनि लुकाइराखिएको अवस्थामा एक थान बेवारिसे भरुवा बन्दुक बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका वडा नं. १ र ३ को सिमानास्थित बाराकुण्डाबाट विष्णु मन्दिर जाने बाटोमा पर्ने तुम्डी खोलाको पुलमुनि लुकाइछिपाइ राखिएको भरुवा बन्दुक बिहीबार राति फेला परेको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा रहेको उक्त एकनाले भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।

बन्दुक कसले र किन त्यहाँ लुकाएर राखेको हो भन्ने खुलेको छैन । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update