Hamro Patra
मोटरसाइकलको ठक्करबाट घाइते बालकको मृत्यु

टीकापुर, साउन १५
कैलालीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ७ वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको छ । 

गौरीगङ्गा नगरपालिका वडा नं. ४ स्थित द ग्रीन स्टार इङ्लिस स्कुलमा कक्षा १ मा अध्ययनरत आरभ बोहराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिंह महराले जानकारी दिए । उनका अनुसार भेन्टिलेटरमा राखेर उपचार भइरहेका बालकलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

आरभलाई मङ्गलबार पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न मोटरसाइकल चालक २६ वर्षीय सागर चौधरी र पछाडि सवार गुटराम डगौरा थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत नभएको खुलेको छ ।

मृतकका बुवा दिलीप बोहराले विद्यालयको नियमित बिदा १२ बजे हुने भए पनि छोरालाई साढे ११ बजे नै विद्यालयबाट बाहिर पठाइएको आरोप लगाएका छन् । वर्षे बिदाका बेला पनि विद्यालय सञ्चालन गरिएको भन्दै उनले घटनाको निष्पक्ष छानबिन तथा जिम्मेवारमाथि कारबाहीको माग गरेका छन् ।

यता विद्यालय प्रशासनले भने आरभलाई छिमेकी विद्यार्थीकी हजुरआमासँगै घर पठाइएको दाबी गर्दै आफूहरूको लापरवाही नभएको जनाएको छ । प्रहरीले दुर्घटनाको कारण तथा विद्यालयमाथि लगाइएका आरोपबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०८३  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update